गोरखा, ११ वैशाख । उत्तरी गोरखामा गएको केही दिनदेखि नेपाल टेलिकमको मोवाइल सेवामा इन्टरनेट नचल्दा स्थानीयबासी समस्यामा परेका छन् । टेलिकमको मोवाइलमा डाटा नचल्दा सूचना आदानप्रदानका लागि समस्या भएको चुमनुब्री गाउँपालिका–१, सामागाउँकी स्थानीयबासी दिजेन लामाले जानकारी दिनुभयो ।
‘‘मोवाइलमा इन्टरनेट डाटा नचलेपछि सूचना पठाउन सकस भइरहेको छ, उहाँले भन्नुभयो, ‘‘हामीले टेलिकमलाई पनि जानकारी गराइसकेका छौ तर अझै सूचारु हुन सकेको छैन ।’’ आज विहान मनास्लु हिमालमा गएको ठूलो हिमपहिरोले बुढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम बढेको अवस्थामा इन्टरनेट नचल्दा नदी किनार आसपासका क्षेत्रका बासिन्दाहरुलाई खवर गर्न समेत कठिनाइ भएको उहाँले भनाई छ ।
‘‘नेपाल टेलिकमको फोरजी सेवा चल्ने ठाउँमा अहिले टुजी समेत चल्दैचल्दैन, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, कहाँ के भएर बिग्रिएको हो भन्ने बारेमा जानकारी छैन, इन्टरनेट नचल्दा गाउँपालिकामा सामान्य सूचना दिन र लिनका लागि समस्या भइरहेको छ ।’’ उहाँले इन्टरनेट बिग्रिएको चारपाँच दिनभन्दा बढी भइसकेको बताउनुभयो ।
नेपाल टेलिकम गोरखाका शाखाका प्रमुख सरोज अर्यालले कार्यालयलाई इन्टरनेट सेवा नचलेको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । ‘‘कुन ठाउँमा समस्या भएको हो, तत्काललै बुझेर समस्या समाधानका लागि पोखरा कार्यालय खवर गर्छु, उहाँले भन्नुभयो, ‘‘हामीलाई इन्टरनेट नचलेको भन्ने बारेमा जानकारी नै थिएन ।’’