Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमतीको हत्या गरी घरभित्रै शव गाडेर भारत भागेका दाजुभाइ पक्राउ


1.8K
Shares

श्रीमतीको हत्या गरी घरभित्रै शव गाडेर भारत भागेका दाजुभाइ पक्राउ

धनुषा, १० वैशाख । एक महिलाको हत्या गरेको आरोपमा उनका श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ ।

सात महिनाअघि श्रीमतीको हत्या गरी सुदीप आफ्ना दाइ उदितसँगै फरार थिए । दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

गत कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । विवादकै क्रममा सुदीपले टाउकोमा बञ्चरो प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक डिएसपी अवालेले बताउनुभयो । घटनापछि दुवै दाजु–भाइ भारत भागेका थिए,ु डिएसपी अवाले भन्नुभयो ।

कात्तिक ३० गते घर फर्किएका दाजुभाइले खाल्डोबाट रेखादेवीको शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ । हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा रेखादेवीका छोराले प्रहरीलाई खबर गरेको डिएसपी अवालेले बताउनुभयो ।

अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँले बताउनुभयो । डिएसपी अवाका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो पनि प्रहरीले बरामद गरेको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको डिएसपी अवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology