गोरखा, १० वैशाख । मनास्लु हिमालबाट हिम पहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्था फर्कन थालेको छ । आइतबार विहान ठूलो हिम पहिरो तालमा खसेपछि तालको पानी ओभरफ्लो भएर असन्तुलित बनेको थियो ।
‘‘हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो, गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्नुभयो, ‘‘अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किदै गइरहेको अवस्था छ ।’’
उहाँले तालको नजिक वस्ती नभएका कारण हिमपहिरो खसेर असन्तुलित बनेको तालले कुनै ठूलो भौतिक तथा मानवीय क्षती नभएको बताउनुभयो । हिमालबाट तालमा पहिरो खस्ने क्रम समेत रोकिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ ।
‘‘तालको पानी ओभरफ्लो भएर बुढीगण्डकी नदीमा पानीको वहाव बढ्दा तालदेखि करिब आधा घण्टा मुनि रहेको सामागाउँदेखि साम्दोसम्म जाने बाटोको बीचमा पर्ने एउटा पुरानो काठ पुल बगाएको छ, उहाँले भन्नुभयो, ‘‘त्यसवाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन, पहिरो खस्ने क्रम समेत रोकिइसकेको छ ।’’
प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाकर्मीहरुले तालको पानी गहिरो बनाएर निस्कासन गरेको समेत बताउनुभयोे । सम्भावित जोखिम न्युनीकरणका लागि सुरक्षा निकायहरुलाई सर्तक रहन निर्देशन दिइएको उहाँको भनाई छ । मनास्लु हिमालको काँखैमा रहेको वीरेन्द्र तालमा आइतवार ठूलो हिम पहिरो खसेको थियो ।
हिम पहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको वहाव बढेकाले जिल्ला प्रसासन कार्यालय गोरखाले बुढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी वरपर नजान आवहन गरेको थियो ।