Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एक दशकमा पाँच गुणा बढ्यो अस्ट्रेलियामा पीआर नेपाली संख्या


2K
Shares

एक दशकमा पाँच गुणा बढ्यो अस्ट्रेलियामा पीआर नेपाली संख्या

काठमाडौं, ९ वैशाख । अस्ट्रेलियामा सन् २०२२र२३ मा १२ हजार ४१ नेपालीले स्थायी बसोबास अनुमति पाएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार योसँगै सन् २०२२ को जुन मसान्तसम्म अस्ट्रेलियामा स्थायी बसोबास अनुमति पाउने नेपाली संख्या १ लाख ५१ हजार १ सय ४० पुगेको छ ।

२०१२ जुन मसान्तसम्म यो संख्या केवल ३० हजार ७ सय ३० थियो । १० वर्षमा अस्ट्रेलियामा पीआर पाउनेको संख्या झन्डै पाँच गुणा बढेको छ ।

पछिल्लो वर्ष सबैभन्दा बढी रिजनल एरियामा गएर ४ हजार ३ सय ८० नेपालीले पीआर पाएका छन् भने ५ हजार आसपासले व्यावसायिक लगानी र इनोभेसनअन्तर्गत भिसा पाएका छन् ।

त्यस्तै, रोजगारदाता स्पोन्सरबाट ७ सय ६१, सिपयुक्त आत्मनिर्भर क्याटागोरीमा २ हजार ७ सय ६३, स्टेट र टेरिटोरी नोमिनेसनबाट ३ हजार ३ सय ६७, ग्लोबल ट्यालेन्टअन्तर्गत २६, सहकर्मीमार्फत ६ सय ७५ र विविधमा ६९ नेपालीले उक्त वर्ष पीआर पाएका छन् ।

५५।४ प्रतिशत पुरुष पीआर पाउँदा ४४।६ प्रतिशत नेपाली महिलाले पीआर पाएका छन् । पीआर पाउने विदेशीमध्ये नेपाली २ प्रतिशत छन् भने अस्ट्रेलियाको जनसंख्यामा पीआर पाउने नेपालीको हिस्सा ०.६ प्रतिशत छ ।

कुन पेसाबाट कति ?

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ ९ईक्यान० का पूर्वअध्यक्ष प्रकाश पाण्डेका अनुसार पीआर पाउनेमध्ये सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका छन् । त्यसमध्ये पनि नर्सले सबैभन्दा बढी, त्यसपछि डाक्टर, फार्मालगायत छन् ।

त्यसपछि एकाउन्ट पढेका, कुकरी पढेका विशेषगरी सेफ र कुक, बेकर, पेस्ट्रीकुक लगायत आईटी तथा इन्जिनियर पढेका दक्ष विद्यार्थीले पनि पीआर पाइरहेका छन् । अस्ट्रेलियाको सरकारी तथ्यांकअनुसार २०२२र२३ मा सबैभन्दा बढी पीआर अनुमति पाउने नेपालीमा २ हजार ५ सय ५८ नर्स छन् भने १ हजार २ सय ४६ एकाउन्टेन्ट छन् ।

इनरोल्ड र मदरक्राफ्ट नर्स ३ सय ६७, सेफ ३ सय २२, कुक १ सय ६२, सफ्टवेयर र एप्लिकेसन्स प्रोग्रामर १ सय ५३, वेलफेयर, रिक्रिएसन र कम्युनिटी आर्ट वर्कर ९९, सूचनाप्रविधि व्यवसायी र सिस्टम एनालिस्ट ८६, सिभिल इन्जिनियर ८० र कम्प्युटर नेटवर्कमा काम गर्ने ७७ जनाले पीआर पाएका छन् ।

त्यस्तै, बसोबासको अस्थायी अनुाति प्राप्त गर्नेमा सेफ सबैभन्दा धेरै छन् । २ सय ६० सेफले अस्थायी बसोबास अनुमति पाउँदा १ सय ८७ कुक, ६२ बेकर र पेस्ट्रीकुक, ३८ क्याफे र रेस्टुरेन्ट म्यानेजर, २५ सफ्टवेयर र एप्लिकेसन प्रोग्रामर, २२ स्ट्रक्चरल स्टिल र वेल्डिङ ट्रेड वर्कर, १९ एकाउन्टेन्ट, १४ कम्प्युटर नेटवर्क प्रोफेसनल, १२ आईसीटी व्यवसाय र सिस्टम एनालिस्ट र ११ जनरल प्राक्टिस्नर र रेसिडेन्ट मेडिकल अफिसर छन् ।

नेपाल दशौं स्थानमा

अस्ट्रेलियाली गृह मन्त्रालयका अनुसार विदेशमा जन्मिएर अस्ट्रेलियाको पीआर पाउनेमध्ये नेपाल दशौं स्थानमा रहेको छ । २०१९ देखि २०२१ सम्म लगातार ११औं स्थानमा रहेको नेपाल २०२२ मा १०औं स्थानमा उक्लिएको हो ।

तथ्यांकअनुसार २०२३ मा पीआर पाउने नेपाली संख्या २०२१ भन्दा दोब्बर बढी हो । २०२१ मा ६ हजार ६ सय २८ ले पीआर पाएकोमा २०२३ मा ह्वात्तै वृद्धि भएर १२ हजार ४१ नेपालीले पीआर पाएका हुन् ।

२०१४र१५ मा अस्ट्रेलियाको आप्रवासन कार्यक्रमअन्तर्गत पीआर अनुमति पाउने १० देशमा नेपाल नवौं स्थानमा परेको थियो । २०१९ मा ५ हजार ४८, २०२० मा ४ हजार ७ सय १४, २०२१ मा ६ हजार ६ सय २८ ले पीआर पाएकोमा २०२३ मा ह्वात्तै वृद्धि भएर १२ हजार ४१ नेपालीले पीआर पाएका हुन् ।

अस्ट्रेलियामा क्रमशः बेलायत, भारत, चीन, न्युजिल्यान्ड, फिलिपिन्स, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया, इटाली र नेपालले धेरै पीआर पाएका छन् । २०२२ मा भारतबाट सबैभन्दा बढी ४१ हजार १ सय ४५ जनाले स्थायी पीआर पाएका छन् ।

नेपालपछि श्रीलंका ११औं स्थानमा छ भने यसपछि टप २० सम्म क्रमशः अमेरिका, हङकङ, दक्षिण कोरिया, जर्मनी, इराक, पाकिस्तान, इन्डोनेसिया, ग्रिस, थाइल्यान्ड र अफगानिस्तान छ ।

पीआर पाउन के गर्नुपर्छ ?

अस्ट्रेलिया सरकारले आफ्नो देशमा आवश्यक जनशक्ति पहिचान गरेर त्यस क्षेत्र अथवा पेसामा रहेका दक्ष जनशक्तिलाई पीआर दिने गरेको छ । जुनसुकै सिप भए पनि सामान्यतया ‘स्किल अकुपेसन लिस्ट’ ९एसओएल० मा सूचीकृत भएकाले पीआरको लागि आवेदन दिन सक्छन् । एसओएलमा सूचीकृत हुन अस्ट्रेलियन सरकारको अनलाइन प्रणाली ‘स्किल सेलेक्ट’ मा गएर व्यक्तिगत विवरण प्रोफाइल बनाउनुपर्छ ।

स्किल सेलेक्टमा आवेदकले पीआर पाउन आवश्यक ‘अंक’ पुर्‍याउँछु भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । आवेदकले भरेको विवरणअनुसार ‘अंक’ पुगेको अवस्थामा अस्ट्रेलियन सरकारको पीआर दिने सिट संख्याभन्दा कम आवेदन भए पाउँछन् ।

यदि सिट संख्याभन्दा बढी आवेदक भएको अवस्थामा सबैभन्दा धेरै ‘प्वाइन्ट’ पाउनेले इमिग्रेसनमा आउन पाउने सम्भावना बढी हुन्छ ।

कसरी ह्वात्तै बढे पीआर पाउने नेपाली ?

नेपालका विद्यार्थी अस्ट्रेलिया जानुअघि कस्ता विषय पढ्दा रोजगारी र पीआर पाउने सम्भावना बढी हुन्छ भन्ने अध्ययन गरेर पढ्ने गर्छन् ।

रोजगारी र पीआर पाउने सम्भावना बढी भएका विषय सुरुदेखि नै छनोट गरेर पढ्न जानेले नै बढी पीआर पाउने गरेको ईक्यान पूर्वअध्यक्ष पाण्डे बताउँछन् ।

पछिल्लो समय अष्ट्रेलियाले स्वास्थ्य, कुकरी, आइटी लगायत क्षेत्रका लागि दक्ष जनशक्ति अलि बढी खोजिरहेको छ र पीआर पाउनेहरूमा नर्स, एकाउन्टेन्ट, सोसियल वर्कर, सेफ, आइटी लगायत छन् । गत वर्षको तुलनामा दोब्बर बढी नेपालीले पीआर पाएको बारेमा जानकारहरूका फरक–फरक तर्क छन् । ‘नेपाली विद्यार्थी राम्रो शिक्षा र शिक्षापछिको रोजगारी तथा पीआर पाउन सकिने गरी त्यहीअनुसार विषय पढ्न जाने गरेका छन्,’ पाण्डे भन्छन्, ‘अहिले तिनै योग्य विद्यार्थीले पीआर पाइरहेको देखिन्छ ।’

अस्ट्रेलियामा पीआर लिने नेपालीको संख्या बढ्नुमा एउटामात्र कारण नरहेको बताउँछिन् केआईईसी ग्लोबलकी निर्देशक तथा रजिस्टर्ड माइग्रेसन एजेन्ट सविना शाक्य ।

पछिल्लो समय पढ्नमात्र नभएर उतै बस्ने सोचसहित अस्ट्रेलिया जानेको संख्या बढेकाले पीआर लिने नेपाली बढेको उनी तर्क गर्छिन् । शाक्यका अनुसार पछिल्लो केही वर्ष पार्टनर भिसा, फेमिली भिसामार्फत जाने नेपाली बढेका छन् ।

पीआर पाएका पुरुष वा महिलाले विवाह गरेर पार्टनर भिसामा श्रीमान् वा श्रीमती अथवा आफ्ना आमाबुबा पनि लगिरहेको शाक्यको भनाइ छ।

‘अहिले त कुनै क्षेत्रका लागि योग्य जनशक्तिले नेपालबाटै अस्ट्रेलियन पीआरका लागि आवेदन दिन सक्ने भएकाले त्यसरी पीआर लिएर जानेको संख्या पनि बढिरहेको छ,’ शाक्य भन्छिन् ।

कुनै कम्पनीले योग्य जनशक्तिलाई ‘इम्प्लोयर स्पोन्सर्ड’ रूपमा लैजान सक्ने व्यवस्था छ । त्यसरी जाँदा निश्चित समयपछि पीआरका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको शाक्य बताउँछिन् ।

अस्ट्रेलियालाई अहिले सबै क्षेत्रमा दक्ष जनशक्तिको खाँचो रहेकाले आफूलाई आवश्यक परेको क्षेत्रमा आवेदन दिनेलाई मूल्यांकन गरेर पीआर दिइरहेको उहाँको भनाइ छ ।

पछिल्लो समय स्वास्थ्य, कुकरी, आइटीलगायत क्षेत्रका लागि दक्ष जनशक्ति अलि बढी खोजिरहेको छ र पीआर पाउनेमा नर्स, एकाउन्टेन्ट, सोसल वर्कर, सेफ, आईटीलगायत रहेको शाक्य बताउँछिन् ।

अस्ट्रेलियामा कार्यरत रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ता बितेको ५(६ वर्षमा नेपालबाट अस्ट्रेलिया बस्ने उद्देश्यसहित नेपाली आउने क्रम बढेकाले पीआर पाउने संख्या पनि बढेको बताउँछन् ।

‘नेपालीहरू पीआर लिन्छु नै भनेर लागिपर्ने हुनाले पीआर कसरी हुन्छ र के कोर्स पढ्नु लाभदायक हुन्छ भनेर पहिलेदेखि नै तयारी गरिरहेका हुन्छन्,’ उनी भन्छन् ।

गुप्ताका अनुसार नेपालीहरू मिहिनेती र पीआर केन्द्रित भएकाले आउनासाथ पीआर पाउने सही तरिका पछ्याउँदा धेरैले पीआर पाउन सफल भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology