Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मनास्लु हिमालमा ठूलो हिम पहिरो : बुढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम


2K
Shares

मनास्लु हिमालमा ठूलो हिम पहिरो : बुढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

गोरखा, ९ वैशाख : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज विहान ठूलो हिम पहिरो खसेको छ । मनास्लु हिमालको काँखैमा रहेको विरेन्द्र ताल नजिकै ठूलो हिम पहिरो खसेको सामागाउँकी स्थानीबासी दिजेन लामाले जानकारी दिनुभयो । हिम पहिरो खसेर विरेन्द्र तालमा मिसिएपछि तालमा पानी भरिएर छालसंगै बुढीगण्डकी नदीमा मिसिएको उहाँले बताउनुभयो ।

‘‘विहान करिब ९ बजेको समयमा विरेन्द्र तालभन्दा माथि ठूलो हिम पहिरो गएको छ, उहाँले भन्नुभयो, ‘‘हिम पहिरो विरेन्द्र तालमा खसेकाले तालको पानी भरिएर ओभरफ्लो भइ बुढीगण्डकी नदीमा पुगेको छ, यसले बर्खा बेलामा जस्तै बुढी गण्डकीमा पानीको ठूलो वहावको जोखिम बढेको छ ।’’

उहाँले नदीमा पानीको वहाव बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताउनुभयो । ‘‘हिम पहिरो सानोसानो त अरु बेलामा जहिले पनि पटक–पटक खसिरहन्छ, लामाले भन्नुभयो, ‘‘तर यति ठूलो हिम पहिरो गएको यो पहिलो पटक हो ।’’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले हिम पहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थल तर्फ पुगीसकेको जानकारी दिनुभयो ।

नदीमा आएको पानीको वाहावले सामागाउँमा एउटा काठेपुलमा क्षति पु¥याएको जानकारी आएको एसपी पाठकले बताउनुभयो । ‘‘प्रहरीको टोली घटनास्थल पुगीसकेको छ, अहिले तत्काल थपक्षति हुने अवस्था छैन, उहाँले भन्नुभयो, ‘‘मनास्लु हिमालमा हिम पहिरो खसेर विरेन्द्र तालमा झरेपछि तालको पानी ओभर फ्लो भएर वाहिर निस्केको हो भन्ने जानकारी आएको छ ।’’

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिम पहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको वहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सवैलाई आग्रह गरिएको बताउनुभयो । विरेन्द्र ताल मनास्लु हिमालको फेँदीमा रहेको ठूलो क्षेत्रफल ओगटेको ताल हिमताल हो । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology