Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बारपाक सुलिकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाई सम्पन्न


1.6K
Shares

बारपाक सुलिकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाई सम्पन्न

गोरखा, ३० चैत ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिक अवधीमा गरेका सेवा प्रवाह र विकास निर्माणका योजनाहरुको बारेमा नागरिकहरुको गुनासो, सुझाव बुझ्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरुले कृषि शाखा मार्फत वितरण गर्ने गरिएको अनुदानमा विपन्न र एक महिलाहरुलाई प्राथामिकता दिनुपर्नेमा जोड दिएका छन् । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारीका लागि छनौट गर्दा अतिविपन्न व्यक्तिलाई छनौट गर्नुपर्ने, बर्षमा न्युनतम एकसय दिनका लागि रोजगारी दिने भनिएपनि ६÷७ दिनमात्र रोजगारी पाएको नागरिकहरुले गुनासो गरेका थिए ।

स्थानीय शिक्षकहरुलाई अन्तरविद्यालय सरुवा गरेर विद्यालय शिक्षा सुधार गर्नपनि सहभागीहरुले गाउँपालिकालाई सुझाव दिएका छन् । जथाभावी वन डढेलोले वातावरण प्रदुशित बन्दै गएको, कृषि शाखाले उपलब्ध गराएको च्याउको विउले राम्रो उत्पादन नदिएको, वडामा गठित मेलमिलाप समितिलाई पुर्नताजगी तालिम प्रदान गर्न ढिलाइ भएको सहभागीको भनाई थियो । पहिलेको तुलनामा विकासको गति राम्रो भएको भएपनि अनुगमन भने प्रभावकारी हुन नसकेको समेत कतिपय नागरिकहरुको गनुासो रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्याप्त बजेट नआउदा भने जति समय रोजगारी दिन नसकिएको बताउनुभयो । उहाँले रोजगार कार्यक्रममा उत्पादनमूलक काममा लगाएर प्रतिफल प्राप्त हुने गरी काम गर्ने योजनामा गाउँपालिका रहेको समेत बताउनुभयो ।

त्यस्तै गाउँपालिकामा संघीय सरकारको अनुदान रकम गत दुई बर्षदेखि घटेर आएकाले वडाहरुमा बजेट बृद्धि गर्न नसकिएको, पालिका भित्र राजस्व बढाउन राजस्वको दायरा फराकिलो बनाउने गाउँपालिकाले रणनीति तय गरेको उहाँले बताउनुभयो । अध्यक्ष भट्टले प्रदेश र संघका योजनाहरको समयमा सम्पन्न नहुने र गुणस्तरीय काम नहुने गर्दा समस्या भइरहेको भन्दै गाउँपालिकाका तर्फ नियमित खबरदारी भइरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय उत्पादन बृद्धि र स्थानीय उत्पादनको प्रयोगमा सवैले जोड दिनुपर्ने समेत वताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष सनमाया गुरुङले ४८ घण्टा तालिम लिएका मेलमिलापकर्ताहरुलाई थप तालिम दिनु नपर्ने बताउनुभयो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद पनेरु, वडा नम्बर ८ का वडाध्यक्ष लक्ष्मण गुरुङ, गाउँपालिका शिक्षा शाखाका प्रमुख पवित्रा शर्मा, स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्ट, कृषिशाखाका प्रमुख विनोद बि.क, पशुशाखाका प्रमुख हिक्मत बहादुर खड्का लगायतले सहभागितहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ८ को कार्यालयमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology