गोरखा, ३० चैत । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेत गाउँलाई सडक सञ्जालले अझैसम्म पनि छुन सकेको छैन । गाउँपालिकाको ३ नम्बर वडामा पर्ने लुसीकाङ गाउँबाट रुन्चेत गाउँ हेर्दा नजिकै देखिन्छ तर पुग्नका लागि भने घण्टौ हिड्नुपर्ने यहाँका स्थानीबासीको बाध्यता छ ।
बुढीगण्डकी नदीले रुन्चेत र लुसीकाङ बिचको छोटो दुरीलाई घण्टौ लाग्ने बनाइदिएको हो । नदी वारपारका लागि सामान्य पुल समेत नभएपछि यि दुई गाउँका बासिन्दाहरु ओहोरदोहोर गर्नका लागि घुमेरै घण्टौ हिड्नुपर्ने बाध्यता अव भने हट्ने भएको छ ।
‘‘रुन्चेत र लुसीकाङबासीको बर्षौदेखिको समस्या हटाउनका लागि भिर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी ५ महिना भित्रमा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भइसकेको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘‘करिब एक करोड ३३ लाख रुपैयाको लागतमा झोलुङ्गे पुल निर्माणको थालिएको हो ।’’
झोलुङे पुल निर्माणसंगै रुन्चेतबासीलाई आउजाउका लागि २ घण्टाको दुरी कम हुने भएको छ । ‘‘अहिले माछाखोला–लामाबेशी–केरौजाबेशी हुँदै रुन्चेत जानुपर्ने अवस्था छ, अध्यक्ष गुरुङले भन्नुभयोे ‘अब यो झोलुङ्गे पुल निर्माण भएपछि भने सबैभन्दा छोटो बाटो भएर रुन्चेत गाउँ पुग्न पाइनेछ, यसले तीनघण्टाको बाटो एक घण्टामै पुग्न सकिन्छ ।’’
पुल नहुँदा अहिले त्यसक्षेत्रका बासिन्दाहरु माछीखोला पारी भीरको बाटो हुँदै जोखिम मोलेर हिडडुल गर्नुपर्ने बाध्यता समेत रहेको छ । ‘वर्खायाममा ओहोरदोहोर गर्दा कतिखेर माथिबाट ढुङ्गा खस्छ भन्ने थाहा हुँदैन, अध्यक्ष गुरुङले भन्नुभयो, पुल निर्माण भएपछि रुन्चेतीहरुले जोखिम मोल्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।’’
रुन्चेतबासीले अहिले प्रयोग गर्दैै आएको पदमार्ग असुरक्षित समेत रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनुभयो । ‘‘अहिले प्रयोग गर्दै आएको बाटोमा भिरबाट ढुङ्गा खस्ने जोखिम बढी रहेको छ भने भिरैभिरको बाटो छ, उहाँले भन्नुभयो, ‘‘झोलुङ्गे पुलले बनेपछि त्यहाँका स्थानीयबासीलाई ठूलो राहत हुनेछ ।’’
पुल निर्माणको लागि फागुन १५ गतेदेखि तिव्र रुपमा काम अगाडी बढेको कादुरी नेपालका प्रोजेक्टर म्यानेजर प्रदिपकुमार सिलवालले जानकारी दिनुभयो । ‘‘प्राविधिक तथा स्थानीयबासीहरु अहिले भिरमा ढुङ्गा फोर्ने काम भइरहेको छ, उहाँले भन्नुभयो, ‘‘आउदो असार १ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको छ ।’’
पुल समयमा निर्माण सम्पन्न गर्नका लागि ६ जना विज्ञसहितको टोली फिल्डमा खटिएको उहाँले बताउनुभयो । उक्त पुलको लम्बाई एकसय २२ मिटरको रहनेछ । पुल निर्माणका लागि स्थानीबासीले समेत रु १ लाख ७६ हजार बरावरको श्रमदान गर्नेछन् । पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब तीनसय भन्दाबढी घरधुरी लाभाव्दित हुने उहाँले बताउनुभयो ।
रुन्चेतका स्थानीयबासीहरु अहिले गाउँपालिकाको केन्द्र माछीखोला–लामावेशी–केरौजावेशीको बाटो हुँदै केरौजासम्म सवारी साधनमा गएर रुन्चेत पुग्नुपर्ने बाध्यता रहेको छ ।