काठमाडौ, १९ चैत । नागरिक उन्मुक्ति पार्टी नाउपा का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताउनुभएको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताउनुभएको दाबी गर्नुभएको छ ।
नाउपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो । तर संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला गरिन् । रेशम चौधरी भने आइसकेका थिए ।
‘अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन। केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो। त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो,’ केन्द्रीय सदस्य विश्वकर्माले भन्नुभयो, ‘अध्यक्ष रञ्जिता आउनुअघि नै विवाद सुरू भएको थियो ।’
विवादको सुरूवात कुन गठबन्धनमा जाने भन्नेबाट सुरू भएको थियो । पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो ।
‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो । बालुवाटार गयौं भने म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर उहाँले भनेपछि हामीले विरोध गरेका थियौं,’ उहाँले भन्नुभयो ।
साथै २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्यहरू बनाइए पनि निर्वाचन आयोगमा पार्टी अद्यावधिक नभएको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न उठेको थियो ।
‘मलाई पार्टी कार्यालयभित्रै केही केटाहरूले आक्रमण गरे। उनीहरू पार्टीकै कार्यकर्ता पनि होलान्,’ उहााले भन्नुभयो, ‘मेरो छेउमा लालवीरजी र बलवीरजी बस्नु भएको थियो, मलाई उहाँहरूले जोगाउनु भयो। बाहिर जान खोज्दा ढोकामा चुकुल लगाएका रहेछन् ।’
आइतबार रेशम चौधरीले पार्टी कार्यालयमै विश्वकर्मासहित चार जनालाई भेटेका थिए । उक्त भेटमा रेशमले आफूहरूलाई हत्या गर्नेसम्मको धम्की दिएको पनि विश्वकर्मा बताउँछन् ।
‘हिजो रेशम दाइलाई भेट्न कार्यालय गएका थियौं। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो( यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ। हिजो यस्तो भन्नु भएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उहाँले भन्नुभयो ।
आफू, टीकापुरका मेयर, वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ५ का अध्यक्षले संयुक्त रूपमा आइतबार रेशमलाई पार्टी कार्यालयमा भेटेको उहाँले बताउनुभयो ।
विश्कर्माका अनुसार पार्टी बैठकमा रेशमले यस्तो अभिव्यक्ति दिएकोमा माफीसमेत मागेका थिए । विश्वकर्माले रेशमलाई पिट्ने कुरा नगर्न आग्रह गरेका थिए ।
‘लोकतान्त्रिक पार्टीभित्र विचार नै राख्न नपाउने हो तरु तपाईंले पिट्ने हामीलाई ?,’ विश्वकर्माको प्रश्न थियो, ‘हिजो हत्या गर्छौं भन्नुभयो पनि भनिसके पछि उहाँ रेशम चौधरीले माफी मागेको हो । मैले आवेशमा बोलेँ भन्दै माफी माग्नुभएको हो।’