गोरखा, १९ चैत । गोरखाका पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गर्नुभएको मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ ।
प्रतिस्पर्धाका लागि छनौट भएका ३७ देशका ९९ डकुमेन्ट्री फिल्महरुमध्य मकैको विवाहले उत्कृष्ट डकुमेन्ट्री फिल्म एवार्ड जितेको श्रेष्ठले बताउनुभयो ।
आइतबार राजधानी काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा कार्यक्रमका प्रमुख अतिथि प्रदीप पौडेलले श्रेष्ठलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
फिल्म निर्देशक श्रेष्ठले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर — ४ लाप्राक लगायतका विभिन्न गाउँमा प्रचलित सांस्कृतिक पर्व मकैको विवाहको विषयमा सो डकुमेन्ट्री तयार पार्नुभएको छ। श्रेष्ठ कान्तिपुर टिभी जिल्ला संम्बाददाता समेत हुनुहुन्छ ।