गोरखा, १८ चैत : गोरखाको शहीद लखन गाउँपालिका–३, घोर्लेस्वाँरामा शनिबार दिउँसो स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नवलपरासी पूर्ववाट मझुवादेउराली हुँदै मनकामना तर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कारपियो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासी पूर्व, विनय त्रिवेणी गाउँपालिका–४ का ४५ बर्षीय शोभाखर गैरेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका गैरेको तनहुँको आँवुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । उकालो बाटोमा गाडी चढ्न नसकेपछि एक्कासी व्याक भएर अनियन्त्रित भइ जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो ।
स्कारपियो चालक नवलपरासी पूर्व, विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ बर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।