Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सडक खाना महोत्सव


1.1K
Shares

गोरखामा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सडक खाना महोत्सव

गोरखा १४ चैत । ‘संस्कृति, कला स्थानीय खाना, पर्यटन प्रवद्र्धन हाम्रो चाहना’ भन्ने नाराका साथ गोरखामा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘सडक खाना महोत्सव २०८०’ हुने भएको छ । गोरखा होटल संघ गोरखाको आयोजनामा सदरमुकाममा पहिलो पटक दुईदिने सडक खाना महोत्सवको आयोजना गर्न लागिएको संघले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

‘‘नयाँ बर्ष २०८१ को अवसरमा पारेर चैत ३० र आगामी बैशाख १ गतेका दिन महोत्सवको आयोजना गरिनेछ, संघका अध्यक्ष नीधिप्रसाद तिमल्सिनाले भन्नुभयो, ‘‘यसले गोरखाको आन्तरिक पर्यटन प्रवद्र्धन मात्र गर्दैन, कोरोनाले थला परेको स्थानीय होटल व्यवसाय सुधार गर्दै आर्थिक मन्दीबाट उकास्न पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।’’

महोत्सवमा स्थानीय परिकारवाट बनेका खानेकुराहरु प्रर्दशनीका रुपमा राखिने आयोजकले जनाएको छ ।‘‘सदरमुकामस्थित बसपार्कदेखि तीनधारेसम्मका स्थानीयबासीहरुले आ–आफ्नो रीतिरिवाज, चालचलन र सँस्कृति अनुसारको परिकार घरमै पकाएर घर अगाडी प्रर्दशनीका लागि राखिनेछ, उहाँले भन्नुभयो, ‘‘अवलोकन गर्न आउने व्यक्तिहरुले महोत्सवमा नयाँ–नयाँ परिकारको स्वाद चाख्ने अवसर पनि पाउनेछन् ।’’
महोत्सवको अवसरमा जिल्ला भित्रका स्थानीय जातजातीको भाँकीहरु समेतको प्रर्दशनी गरिने संघका महासचिव सुमन श्रेष्ठले बताउनुभयो । दर्शकहरुले रातीको दुईबजेसम्म सडकमै बसेर खानको स्वाद चाख्न पाउने भएकाले पनि महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा नयाँ थप्ने आयोजकले जनाएको छ ।

त्यसका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा स्थानीय समुदायहरुसंग संघले आवश्यक समन्वय गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै खाना महोत्सवमा बिभिन्न प्रकारका खानाका परिकारसंगै राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरन्जात्मक प्रस्तुती समेत रहनेछ ।

सडक खाना महोत्सवमा ५० वटा स्टलहरु राखिने छन् । महोत्सव हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गोरखा जिल्लामा रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको चिनारी गराउन जिल्ला भित्रका सवै होटलले ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्रको नक्सा होटलमा राख्ने व्यवस्था समेत मिलाएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology