गोरखा, १४ चैत । देशैभर भोलीबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएकोे छ । परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष निर्धारण, प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै केन्द्रमा पठाउने काम भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । ‘प्रश्नपत्रहरु केन्द्र नजिकको प्रहरी चौकीमा पुगिसक्यो’, उहाँले भन्नुभयो, ‘केन्द्राध्यक्ष तोकेर उत्तर पुस्तिकाहरु पनि सबै केन्द्रमा पु¥याईसक्यौँ ।’
२०८० सालको एसईईमा गोरखाबाट १९ सय १३ जना छात्रा र १७ सय ४९ जना छात्र गरी ३६ सय ६२ जना परीक्षार्थी परिक्षमा सहभागी हुने उहाँले बताउनुभयो । यस वर्षको एसईईमा साधारणतर्फ ३५ सय २७ जना, प्राविधिक तर्फ १ सय १ र गे्रडवृद्धितर्फ ३४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लाका तीन विद्यालयहरु भवानी मावि मान्वु, त्रिवेणी मावि, सेरा र ज्ञानमार्ग मावि घ्याल्चोकबाट १ सय १ जना विद्यार्थीहरुले प्राविधिक तर्फको एसईई परीक्षा दिने कार्यालयले जनाएको छ ।
यसबर्षको एसईईमा आठवटा विद्यालयहरु मध्य चार वटा बोर्डिङ र चार वटा सामुदायिक विद्यालयहरुले १० भन्दा कम विद्यार्थीहरु सहभागी हुने कार्यालय प्रमुख आचार्यले बताउनुभयो । कार्यालयका अनुसार बोर्डिङतर्फ गोरखा नगरपालिकाको मनकामना बोर्डिङ स्कुलबाट छ जना, सूर्यमुखी बोर्डिङ स्कुलबाट आठजना, जेनियस बोर्डिङ स्कुलबाट आठजना र पालुङटार नगरपालिका ठाटीपोखरीको बालज्योती इङ्लिस बोर्डिङ स्कुलबाट नौजना विद्यार्थीहरु एसईईमा सहभागी हुँदै छन् ।
त्यस्तै सामुदायिक विद्यालयहरुतर्फ सिरानचोक गाउँपालिका ५ को चित्रेपोखरी माविबाट सबैभन्दा कम चारजना विद्यार्थीहरु एसईईमा सहभागी हुँदै छन् । सहिद लखन गाउँपालिका ६ बतासेको भगवती हिमालय मावि घैरुङबाट ६ जना, गोरखा नगरपालिकाको रत्नलक्ष्मी मावि डुम्रीडाँडाबाट ७ जना र राष्ट्रिय मावि घलाङबाट ६ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविले सबैभन्दा धेरै एकसय २७ जना परीक्षार्थीहरु एसईईमा सहभागी गराउने भएको छ । बोर्डिङतर्फ गोनपा ८ रानीवनको दि ओल्ड क्यापिटल मावि रानीवनले ९४ जना विद्यार्थीहरु सहभागी गराउँदै छ । एसईईको लागि कार्यालयले आवश्यकता अनुसार सुरक्षाकर्मी सहित तीनसय ९३ जना कर्मचारी परिचालन गरेको छ ।
त्यस्तै यो वर्षको आरुघाट गाउँपालिका ३ स्थित देवी जलकुमारीबाट ४ र गोरखा नगरपालिका वडा नम्बर – ८ स्थित सरस्वती मावि आहालेबाट १ गरी जम्मा ५ जना दृष्टिविहिन र गोरखा नगरपालिका वडा नम्बर – १० टक्सार मनकामना बहिरा माविबाट १६ जना बहिरा विद्यार्थीहरु पनि एसईईमामा सहभागी हुदैँ छन् ।
कार्यालयले जिल्लाभर २३ वटा परिक्षा केन्द्र तोकेको छ । सबैभन्दा धेरै गोरखा नगरपालिकामा ६ वटा परीक्षा केन्द्रहरु तोकिएको छ, भने चुमनुब्री गाउँपालिकामा एउटा पनि परिक्षा केन्द्र नराखिएको कार्यालयको भनाई छ । परीक्षार्थी सङ्ख्या कम रहेका कारण चुमनुब्रीमा परीक्षा केन्द्र नराखिएको कार्यालयले जनाएको छ । कार्यालय गत चैत ९ गते २३ वटै केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण समेत गराइ सकेको छ ।