गोरखा, १४ चैत । गोरखाको चुमनुब्री गाउँपालिका एक पुरुष भन्सार छली सुन ल्याउदै गर्दा पक्राउ परेका छन् । चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थानीय घर भएका ३९ बर्षका सोनाम दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसंगै सुनसरी जिल्ला इटहरी उपमहानगर पालिका वडा नम्बर ११ घर भएका २६ बर्षका सुदिप वि.कलाई पनि पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता एवम प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।
रसुवाको केरुङ नाका हुँदै भन्सार छलेर सुन तस्करी गरेको काठमाण्डौँ प्रवेश गरेको भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरीको टोली उनिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
उनिहरुको साथबाट सोमवार साँझ काठमाण्डौँ महानगरपालिका– १८ स्थित नरदेवीबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको १२८. ७ ग्राम सुन बरामत गरिएको हो ।
पक्राउ परेका दुवैजना माथि आवश्यक थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाएको एसपी पोखरेलले जानकारी दिनुभयो ।