Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रुसमा राष्ट्रपति निर्वाचन सम्पन्न पुटिनको जित सुनिश्चित


826
Shares

रुसमा राष्ट्रपति निर्वाचन सम्पन्न पुटिनको जित सुनिश्चित

एजेन्सी,५ चैत्र । रुसी राष्ट्रपति निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान सम्पन्न भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि निर्वाचित हुने तयारी गरिरहँदा आइतबार अन्तिम चरणको मतदान सम्पन्न भएको हो । मतदान सकिनु केही समयअघि निर्वाचनमा ६७।५४ प्रतिशत मत खसेको छ । यो अघिल्लो निर्वाचनमा खसेको मतभन्दा धेरै हो ।

सन् २०१८ को मतदानमा ६७।५ प्रतिशत मत खसेको थियो । उक्त चुनावमा उनले ७६ प्रतिशत मत पाएका थिए । आलोचकहरूलाई नजरबन्द, जेल वा कतिपयलाई हत्या गरिएको पृष्ठभूमिमा गरिएको निर्वाचनमा ७१ वर्षीय पुटिन पुनः निर्वाचित हुने प्रायः निश्चितजस्तै छ । प्रतिपक्षी दलका नेता अलेक्सी नभाल्नीको गत महिना एउटा जेलमा रहस्यमय ढंगले मृत्यु भएको थियो । उनको मृत्युमा पुटिनको हात रहेको उनका विरोधी र अमेरिकालगायत रुसविरोधी राष्ट्रहरूले दाबी गर्दै आएका छन् ।

आइतबार अवरोधको आह्वान गर्दै केही मानिस मतदान केन्द्रबाहिर लामो लाइन लागेका थिए । नभाल्नीकी विधवा युलिआ नभाल्नीको आह्वानमा सो अवरोध भएको थियो । बिबिसीका अनुसार मस्कोका मतदान केन्द्रहरूमा अचानक मानिसको लाइन देखिएको थियो । कुनै नाराबाजी र पर्चाविनै मानिसहरूले मौन विरोध प्रदर्शन गरेका थिए । प्रहरीले ५० जनालाई पक्राउ गरेको थियो ।

पुटिनले बिहीबार ‘कठिन’ समयमा हुन लागेको निर्वाचनमा सहभागी हुन रुसी जनतासँग अपिल गरेका थिए । ‘हाम्रो मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको छ । हामी करिब सबै क्षेत्रमा जटिल चुनौतीको सामना गरिरहेका छौँ । यस कठिनाइ सफलतापूर्वक पार गर्न हामीले एकताबद्ध र आत्मविश्वासी बन्न जरुरी छ,’ निर्वाचनको पूर्वसन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै पुटिनले भनेका थिए ।निर्वाचनका पहिला दुई दिनमा मतदान केन्द्रमा तोडफोड भएका विवरण सार्वजनिक भएका थिए । दर्जनौँ मानिसलाई थुनामा राखिएको छ । रुस–नियन्त्रित युक्रेनका जापोरिज्जिया, खेरसन, दोनेत्सक र लुहान्स्कमा पनि निर्वाचन भएको छ । सन् १९९९ मा पहिलोपटक प्रधानमन्त्री भएका पुटिन सन् २००० देखि २००८ सम्म राष्ट्रपति र फेरि सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology