Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चितवन घटना : फेला परेको नोट शालीनले नै लेखेको रिपोर्ट


1.6K
Shares

चितवन घटना : फेला परेको नोट शालीनले नै लेखेको रिपोर्ट

चितवन, २३ फागुन । चितवनमा शालीन पोखरेलको मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट उनैले लेखेको पाइएको छ। मंगलबार आएको रिपोर्टअनुसार सुसाइड नोट शालीनले नै लेखेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

उनका अनुसार सुसाइड नोटको परीक्षण गर्न कार्यालयले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौंमा पठाएको थियो।

सुसाइड नोटसँगै प्रहरीले शालीनको नोट कापी र उत्तरपुस्तिका पनि पठाएको थियो। तीनै वटामा शालीनले नै लेखेको रिपोर्ट प्रहरीले प्राप्त गरेको हो। प्रयोगशालाले त्यसको रिपोर्टमा ‘कमन अर्थर’ अर्थात एकै लेखकले लेखेको भनेर रिपोर्ट पठाएको हो।

उनले आफ्नो नोटमा ‘एभ्रिबडी आई एम सरी’ लेखेको प्रहरीले जनाएको छ।

यसअघि आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमर्टम रिपोर्टमा पनि शालीनको झुण्डिएर मृत्यु भएको उल्लेख थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनको झुण्डिएर मृत्यु भएको देखिएको थियो। तर मृतकका परिवारले हत्या र बलात्‍कार भएको दाबी गरेको थियो।

परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी समेत दिएको थियो। जसपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले फागुन १५ गते पक्राउ गरेको थियो।

उनीहरूमाथि सोमबार मात्रै थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको थियो। सरकारी वकिल कार्यालय चितवनले पनि पोष्टमर्टम र सुसाइड नोटको परीक्षण गर्न निर्देशन दिएको थियो।

शालिन फागुन १२ गते बिहान होस्टेलको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology