काठमाडौं, १९ फागुन । नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले दयाहाङ राई स्टारर ग्याङस्टर फिल्म ‘रंगेली’लाई रोकेपछि फिल्मवृत्तबाट क्रुद्ध प्रतिक्रिया आएको छ । गत महिना सेन्सर कार्यविधिलाई लिएर विरोधमा उत्रिएका फिल्मकर्मीले यसपटक भने फिल्म रोक्ने बोर्डको कदमलाई लिएर आक्रोशित छन् ।
फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘विवेकहीन’को संज्ञा दिएका छन् । कुनै ठाउँको आधारमा बनेका भारतीय फिल्मले प्रदर्शनको अनुमति पाएको उदाहरण दिंदै उनी लेख्छन्, ‘कश्मीर फाइल्स १ उडता पञ्जाब ११ दिल्ली बिल्ली १११ खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त यो ‘रंगेली’ चाहिं किन सेन्सरमा परेछ ? सेन्सलेस सेन्सर बोर्ड ’
निर्देशक मनोज पण्डितले सेन्सर बोर्डलाई ‘पाकेको पिलो’को संज्ञा दिएका छन् । उनले फिल्मकर्मीलाई अनसन बस्नुपर्ने आवश्यकता भएको बताएका छन् ।
उनी लेख्छन्, ‘सिनेकर्मी साथीहरु हो, छिमेकीको घरमा पसेर मान्छे खाने बाघ कुनै दिन मेरो पनि घर पसेर मेरो परिवार पनि तहसनहस गर्न सक्छ भन्ने सोचौं र छिमेकीकोमा पस्दा मेरोमा पसेको होइन भनेर सिरक ओडेर नबसौं । यो सेन्सरबोर्ड नामक स्रष्टाको अभिव्यक्ति स्वतन्त्रता खान पल्केको बाघलाई बाँधेर खोरमा थुन्न सबै एक जुट होऔं र आवश्यक परे । सिने–अनसन बस्न पनि तयारी गरौं ।’
फिल्म लेखक यज्ञशले पनि फिल्म रोक्ने सेन्सर बोर्डप्रति असन्तुष्टि जनाएका छन् । उनी लेख्छन्, ‘लौ, बहुदलीय पञ्चायतमा स्वागत छ १ हामी भन्दैछौं फिल्मको वर्गीकरण गर । उदार र लोकतान्त्रिक समाज सुहाउने गरी जनतालाई नै छनोटको अधिकार देऊ तर सरकारहरूलाई कसले बुझाइदिने ?’
मोरङको रंगेली नगरपालिकाको नाममा आधारित रहेर बनाइएको अर्जुन सुवेदी निर्देशित यो फिल्मलाई सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको छ । फिल्मको नाम र उक्त थलोको संवेदनशीलतालाई हेरेर आफूहरुले तत्काल रोकेको सेन्सर बोर्डका पदाधिकारीले बताएका छन् ।
फिल्म ‘रंगेली’ फागुन २५ गते प्रदर्शन तयारीमा छ ।