गोरखा, १७ फागुन । स्वतन्त्र विद्यार्थी युनियन सहित बिभिन्न विद्यार्थी संगठनहरुले द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई राजीनामा दिन १८ घण्टे अल्टिमेटम दिएका छन् ।
स्ववियु, नेपाल विधार्थी संघ र अनेरास्ववियूले आज संयुक्त विज्ञप्ती जारी गर्दै क्याम्पसमा भएका आर्थिक अनियमितताको छानविन गर्न तत्परता नदेखाएको भन्दै राजीनामा माग गरेका हुन् ।
कक्षा १२ र स्नातक तह दोस्रो बर्षको परीक्षाका लागि अति आवश्यक कामहरु बाँकी रहेकाले गएको १० देखि क्याम्पस प्रसासन र लेखा शाखामा लगाइएको ताला भने एक दिनका लागि खुल्ला गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा क्याम्पस प्रमुखले राजीनामा नदिए र लेखा अधिकृत माथि त्रिभुवन विश्वविद्यालयको नियम र विधान अनुसार आवश्यक छानविन नभए सम्पूर्ण पठनपाठनका कामहरु बन्द गरि अनिश्चितकालिनसम्मका लागि पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रन आफुहरु बाध्य हुने चेतावनी समेत दिइएको छ । आफुहरुले मागमा क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुख निरिह भएर वेवास्ता गरेको विद्यार्थीहरुको आरोप छ ।
विद्यार्थीहरुको माग सम्वोधन नभई आन्दोलनमा जानुपर्ने बाध्यता भए क्याम्पसमा हुनसक्ने नैतिक तथा भौतिक क्षतिको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रसासनले लिनुपर्ने चेतावनी समेत विद्यार्थी संगठनहरुले दिएका छन् ।
संयुक्त विज्ञप्तिमा द्रव्यशाह बहुमुखी क्याम्पसका स्ववियु उपसभापति, नेपाल विद्यार्थी संघका द्रव्यशाह इकाई समितिका सभापति, अखिल क्रान्तिकारी द्रव्यशाह बहुमुखी क्याम्पसका अध्यक्ष अनिश अर्याल, अनेरास्ववियुका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । क्याम्पास प्रशासनले आर्थिक अनियमित भएको बिषयमा पटक पटक ध्यानकर्षण गराउँदा समेत अनुसन्धन गर्न अटेरी गरेको विद्यार्थी संगठनले आरोप लगाउदै आएका छन् ।