गोरखा, १७ फागन । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा गोरखाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि अनुसार बारपाक सुलिकोट गाउँपालिकाले ८७.५ अंक ल्याएर जिल्लामै पहिलो भएको हो ।
त्यस्तै गण्डकी गाउँपालिकाले ८० दशमलव ५ अंक ल्याएर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामा द्रोस्रो उत्कृष्ठ पालिका बनेको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा शहिद लखन गाउँपालिका र अजिरकोट गाउँपालिका समान ७५ दशमलव ५ प्रतिसत अंक ल्याएर तेस्रो भएका छन् भने भिमसेन थापा गाउँपालिकाले ७५ अंक ल्याएर जिल्लामा चौथो उत्कृष्ट पालिका भएको छ ।
त्यस्तै सिरानचोक गाउँपालिकाले ७० अंक, गोरखा नगरपालिका गोरखाले ६६ अंक, चुमनुब्री गाउँपालिकाले ५० ल्याउन सफल भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधि अनुसार हालसम्म देशभरका ५ सय ७२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको हो ।
स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा उतीर्ण हुनका लागि न्यूनतम ५० अङ्क प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।