गोेरखा, १५ फागुन । प्रविधिको प्रयोगसंगै भ्रष्टाचारको शैली पनि फेरिदै गएको सरोकारवालाहरुले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा आज गोरखा सदरमुकाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पछिल्लो समय प्रविधीको प्रयोग मार्फत भ्रष्टाचार हुने गरेको बताएका हुन् ।
‘‘पछिल्ला समयमा ठूला ठूला भ्रष्टाचारहरु प्रविधि र आइटीको प्रयोग मार्फत हुने गरेका छन्, अख्यितार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कोषहरी निरौलाले भन्नुभयो, ‘‘नक्कली डिजिटल लाइसेन्स प्रकरण लगायतका क्षेत्रमा भएका भनिएका भ्रष्टाचारका प्रकरणमा त्यसैको एउटा उदाहरण पनि हो ।’’
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले सार्वजनिक खरिद सम्बन्धी ऐनको पूर्णपालना हुनसके भ्रष्टाचार न्युनीकरण हुने बताउनुभयो । उहाँले कानुनको परिपालना गर्नु सवैको जिम्मेवारी भएको भन्दै गल्ती नगरे अख्तियारबाट डराउनु नपर्ने बताउनुभयो ।
‘‘हाम्रो समाजमा कमाउनेहरुलाई पूजा गर्ने कल्चरले पनि भ्रष्टाचारलाई बढवा दिएको छ, आयुक्त सिलवालले भन्नुभयो,‘‘गलत ढंगले सम्पती कमाउनेलाई अलग्याउन सक्नुपर्छ ।’’ कार्यक्रममा जिल्ला समन्वय समितिका गोरखाका प्रमुख मोहनबहादुर थापामगरले भ्रष्टाचारका न्युनीकरणका लागि अधिकार प्राप्त व्यक्ति स्वंय जिम्मवार हुनुपर्नेमा जोडदिनुभयो ।
अधिकार प्राप्त व्यक्तिले सम्बन्धित कार्यालयबाट भ्रष्टाचार जन्य गतिविधिको नियन्त्रणका लागि थालनी गर्न सुरुवात गर्न सके यस्ता कार्य विस्तारै कमी हुँदै जाने उहाँको भनाई छ । गोरखा नगरपालिका गोरखामा प्रमुख कृष्णबहादुर रानामगरले पछिल्लो समयमा दुःख दिने नियतले अख्तियारमा उजुरी हाल्ने क्रम बढेको भन्दै अख्तियारले सदनियत वा वदनियतपूर्ण उजरी के हो भन्नेमा अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय तहहरुमा देखिएका भ्रष्टाचारका धेरैजसो मुद्दाहरु लिए खाएको वा राज्यलाई हानी भएका भन्दापनि प्रक्रिया नपुगेका मुद्दाहरु धेरै पर्ने गरेको बताउनुभयो । कसैले आफुले भनेजस्तो नभएपछि काम रोक्नका लागि अख्तियारलाई देखाउने र उजुरी गर्ने गरेको समेत पाइएको भन्दै उहाँले यस्ता कार्यले कर्मचारीहरु काम गर्नभन्दा पनि पन्छिन खोज्ने क्रम बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा सहभागी गाउँपालिकामा प्रमुखहरुले अख्तियारमा पर्ने गरेका बेनामी उजुरी लिने मात्र नभएर उजुरी दिनेसंग प्रारम्भिक तथ्य प्रमाणहरु समेत लिएर मात्र अनुसन्धान थाल्नुपर्ने सुझाव समेत दिएका छन् । ‘‘आग्रह र पूर्वाग्रहबाट धेरै उजुरी अख्तियारमा पर्ने गरेको छ, शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले भन्नुभयो, ‘‘अख्तियारले पनि यसमा ध्यानदिनुपर्छ ।’’
गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले स्थानीय तहहरु प्रति अख्तियारले पनि शंका र आंशका बढी हुने गरेको भन्दै अख्तियारले आंतक सिर्जना गरेर नभई सल्लाह र सुझाव दिएर सहयोग पनि गर्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आसमान तामाङले अख्तियारले परेका उजुरीको स्थलगत अनुसन्धान गरी छानविन गर्ने गरेको बताउनुभयो ।
उहाँले पछिल्लो समय अनुदान वितरणका कार्यक्रममा बढी भ्रष्टाचार हुने गरेको उजुरी आयोगमा पर्ने गरेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित कार्यालय प्रमुख जिम्मेवार हुनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष किशोरजंग थापाले कुनैपनि परियोजनाको प्रारम्भमा बोलपत्र आवहनका क्रममा निस्कने सूचनामा नै बढी भ्रष्टाचार हुने गरेको बताउनुभयो । उहाँले अख्तियारमा पर्ने उजुरीका आधारमा नभई उजुरीको अध्ययन गरी शंका लागेमा मात्र अख्तियारले आवश्यक प्रक्रिया अगाडी बढाउन पर्नेमा सुझाव दिनुभयो ।