गोरखा, १२ फागुन । गोरखाको वयस्क चितुवा आज मृतावस्थामा फेला परेको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५,कुमलटारी स्थित ज्वालामुखी सामुदायिक बन क्षेत्रमा चितुवा मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय पालुङटारका प्रमुख अर्जुन अक्षामीले जानकारी दिनुभयो ।
मध्यान्ह्र जंगलमा गोठाला गएका स्थानीयबासीहरुले प्रहरीलाई खोलामा मृतावस्थामा चितुवा भेटिएको जानकारी गराएपछि सव डिभिजन बन कार्यालय पालुङटारबाट गएको वन कार्यालयका टोलीले मृत चितुवाको उद्धार गरेको हो । ‘‘फेला परेको चितवाको लम्बाइ टाउकोदेखि पुच्छरसम्म झण्डै ८२ इन्चको रहेको छ , प्रमुख अक्षामीले भन्नुभयो,‘‘वयस्क उमेरमा भाले चितुवा मृत भेटिएको हो ।’’
मृत भेटिएको चितुवा केहीदिन अघि नै मरेको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उक्त मृत चितुवा जंगलको फेँदीमा रहेको खोलामा फेला परेको हो । मृत्युको कारण भने खुल्न नसकेको उहाँको भनाई छ ।
चितुवाको मृत्युको कारणबारे अनुसन्धानका लागि आवश्यक मुचुल्का उठाएर बारपाक सुलिकोट सवडिभिजन बन कार्यालय परिषरमा व्यवस्थापन गरिएको उहाँले प्रमुख अक्षामीले जानकारी दिनुभयो ।