गोरखा, ७ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सुशासन, सम्बृद्धि र सामाजिक न्याय बर्तमान सरकारको मूलमन्त्र रहेको बताउनु भएको छ । गोरखाको पालुङटार नगरपालिका–७ ,च्याङली स्थित जीवन ज्वोती माध्यामिक विद्यालयको ५६ औं बार्षिकोत्सव तथा अभिभावक समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम नभएसम्म विकासले फड्को मार्न नसक्ने बताउनुभयो ।
‘‘अहिलेको सरकारको मूलमन्त्र सुशासन, सम्बृद्धि र सामाजिक न्याय हो, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘विकासमा फड्को मार्नका निम्ति सुशासन अनिवार्य आवश्यकता पनि हो ।’’ भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, जालसाजी किर्ते, ठगी गर्ने र राज्य लुट्ने अभियानलाई अन्त्य गर्ने दिशामा सरकार अघि बढीरहेको समेत उहाँले बताउनुभयो ।
‘‘सवैखालका अपराधीहरुलाई दण्डित गर्ने र कानुनको दायरामा ल्याउने काम सरकारले गरिरहेको छ, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अव आइन्दा भ्रष्टाचारीहरुले टाउको उठाउन पाउने छैनन भन्ने सन्देश सहित हामी सुशासन कायम गर्ने प्रक्रियामा लागि रहेका छौ । ’’
सरकारले एकपछि अर्को ठूलाठूला भ्रष्टाचार, किर्ते, जालसाजीका अभियानका बिरुद्ध छानविन गरेर अपराधीहरुलाई काुननको दायरमा ल्याउन काम गरिरहेको भन्दै उहाँले करिब ५० बर्ष अघिदेखिका भ्रष्टाचार र जालसाजीका घटनाहरुको छानविन गर्दै सरकार सुशासन कायम गर्ने दिशामा लागि परेको बताउनुभयो ।
पर्याप्त स्रोत साधनको अभावमा सरकारले चाहेजस्तोे विकास निर्माणका काम गर्न नसकेको भएपनि विकासलाई कुनै पनि हालतमा अघि बढाएर नेपाली जनताको जीवन फेर्ने दिशा तर्फ सरकार केन्द्रीत रहेको उहाँको भनाई छ ।
‘‘आमनागरिकको जीवनमा सवैढंगबाट परिवर्तन ल्याउने गरी सरकार अघि बढीरहेको छ, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘देशमा हामीले ठूलो राजनीतिक परिवर्तन ग¥यौ, नयाँ संविधान बनायौँ, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौँ, अव लोकतन्त्रको माध्यमबाट आमनागरिक जीवन फेर्नुपर्छ ।’’