काठमाडौ, २८ माघ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड आइतबार एक भव्य समारोहबीच घोषणा हुँदैछ । मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्डमा खेलाडीले २०७९ मा गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा मनोनयन गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर अवार्ड विजेताको घोषणा गर्न लागेको जनाएको छ। यस वर्ष उत्कृष्ट वर्ष खेलाडी पुरुषमा क्रिकेटका आशिफ शेख र रोहित कुमार पौडल तथा एथ्लेटिक्सका दीपक अधिकारी रहँदा महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथ्लेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाई रहेका छन् ।
युवा खेलाडीको शीर्ष तीनको मनोनयनमा क्रिकेटका देव खनाल, एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ रहँदा वर्ष प्रशिक्षकमा एथ्लेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा मनोनयनमा रहेका छन् ।
अवार्डको मुख्य विधाको रूपमा रहेको पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लपलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल र शारीरिक सुगठनकी रजनी श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाईस अवार्ड विजेताले बजाज पल्सरको मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ।