धनबहादुर तामाङ
गोरखा, २८ माघ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ स्थित श्रीनाथ महिला विकास सहकारी सँस्थाको अध्यक्षमा शोभा थापा निर्बिरोध निर्वाचित हुनुभएको छ । सँस्थाको शनिवार सम्पन्न भएको २२ औं साधारणसभा तथा पाँचौ अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । साधारण सभाले उपाध्यक्षमा सीता तामाङ सचिवमा तारा सुनुवार, सहसचिवमा खतिजा मिँया, कोषाध्यक्षमा शर्मिला ढकाल सहित ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइरालाले महिलाको नेतृत्व विकासमा सहकारीले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउनुभयो । अहिलेको धेरै सहकारीले बचत गर्ने र ऋण लगानी गर्ने मात्र भएकाले श्रीनाथ महिला सहकारीले त्यो भन्दा फरक भएर सँस्थालाई अगाडी बढाइरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले यस सहरकारीले महिला उद्यमीहरुको रुपमा पनि काम गरेको भन्दै सानो पुँजीबाट सुरु गरेको सहकारी अहिले लगभग ६ करोड रुपैया कारोबार गर्न सकेकोमा गर्व महसुस भइरहेको बताउनुभयो ।
कार्यक्रममा सिरानचोक गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जगदिश्वर ढकालले सहकारी भन्ने बित्तिकै डराउनुपर्ने देशको पछिल्लो स्थितिमा श्रीनाथ महिला सहकारी सहकारीलाई अन्यन्तै व्यवस्थित ढंगबाट अगाडी बढाइरहेको बताउनुभयो । उहाँले ढुक्क भएर बचत गर्न पनि सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
सहकारीले कुनै समस्या परेमा वा आवश्यकता परेको कुरा निर्धक्क भएर वडा कार्यलयमा बिषय राख्न समेत सवैलाई आग्रह गर्नुभयो ।