काठमाडौं, २१ माघ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्ने तयारी गरिएको छ । राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ। साथै फागुनमा ५ गते, ११ गते, १४ गते, १७ गते, १८ गते, २१ गते, २७ गते, २९ गते र ३० गते बैठक हुनेछ।
कार्यतालिका अनुसार संसद सञ्चालन हुने हो भने फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ । गत माघ ११ गते रिक्त १९ सदस्यका लागि राष्ट्रिय सभा चुनाव भएको थियो । नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र नेकपा एमालेका १ जना निर्वाचित भएका थिए।
यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।
राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक(एक जना सदस्य छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ।
राष्ट्रिय सभा अध्यक्षका लागि कोशीबाट नवनिर्वाचित सदस्यसमेत रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी हुनुहुन्छ । उहाँलाई राष्ट्रिय सभा अध्यक्ष पदमा उठाउनकै लागि उम्मेवार बनाइएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले बताउनुभएको थियो ।
माओवादी केन्द्रले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने तयारी गरेको छ । माघ ११ को चुनावमा सत्ता गठबन्धन दलहरूले तालमेल गरेर साझा उम्मेदवार तय गरेका थिए तर कोशीमा माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन् ।
कार्की पराजित भएकोमा माओवादीका कतिपय नेताहरूले कांग्रेस संस्थापनइतर समूह शेखर कोइराला पक्षको असहयोग भनेका छन् । तर कांग्रेसको संसदीय दल बैठकले कोशीमा अप्रत्याशित परिणाम आएको निष्कर्ष निकालेको थियो ।
माओवादीले कोशीमा आफूहरूले एक सिट गुमाउनु परेको र सत्ता गठबन्धनभित्र समझदारीअनुसार आलोपालो प्रधानमन्त्री छाड्दा संवैधानिक परिषदमा एक जना पनि सदस्य नहुने अवस्था देखिएकोले आफूहरूले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ । राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषदमा सदस्य रहने व्यवस्था छ ।
राष्ट्रिय सभा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा कांग्रेस र माओवादीसहित सत्ता गठबन्धन दलका शीर्ष नेताले छलफल गरिसकेका छैनन्। कांग्रेसका नेता सिटौलाले भने आफू कार्यकारी भूमिका मन्त्री भएर सरकारमा जानेभन्दा पनि नीति निर्माणमा आफ्नो रूची रहेको बताउने गरेका छन्।