गोरखा, १९ माघ । उत्तरी गोरखामा यो बर्षको अहिलेसम्मकै ठूलो हिमपात भएको छ । हिजोदेखि सामान्य हिउँ पर्न थालेको र गएरातिदेखि भारी हिमपात भएको चुमनुब्री गाउँपालिका १ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहानसम्म करिब डेढफिट हिउँ परेको छ । ‘अझै निरन्तर हिउँ परिरहेको छ । मान्छेहरु घरभित्रको भित्रै छन, उहाँले भन्नुभयो, ‘पानी जमिसकेको छ ।
टेलिफोनको नेटवर्क घरी जाने, घरी आउने गरिरहेको छ । विद्युत सेवा रातभरि पनि थियो । अहिलेसम्म त छ, तर पानी जमेपछि लघुजलविद्युत पनि पक्कै प्रभावित होला ।’ उहाँका अनुसार यो हिमपात यो बर्षको अहिलेसम्मको ठूलो हिमपात हो । राम्ररी हिउँपरेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी रहेको उहाँको भनाइ छ ।
यतिबेला जाडो छल्न तथा फुर्सदको समयमा भ्रमण गर्न सहरतिर झरेका स्थानीय बासिन्दाहरु गाउँ फर्कन थालेका छन् । हिमपातले उनीहरु पनि प्रभावित भएका छन् ।
उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको छ । हिमपातका कारण ती क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।