काठमाडौं, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ज्यान गुमाएका थप तीन हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले माओवादी ‘जनयुद्ध’का सरकारले घोषणा गर्न बाँकी करिब तीन हजारलाई पनि छिट्टै सहिद घोषणा गरिने बताउनुभयो ।
त्यसका निम्ति मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको उहाँले जानकारी गराउनुभयो । तेस्रोपटक प्रधानमन्त्री भएपछि आफूले माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरू नछुटून् भनेर विशेष ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो ।
“यहाँ छुट भएका केही म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु– झन्डै तीन हजार छुट भएकाको सहिद घोषणाचाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र, अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ । त्यसो गर्दा अर्को तीन हजार छुट भएका सहिदहरू पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भई नै सकेको छ ।”
प्रधानमन्त्री प्रचण्डले माओवादी ‘जनयुद्ध’मा बेपत्ता भएकाको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताउनुभयो । न्युज एजेन्सी नेपाल