काठमाडौँ, ३ माघ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला–२६ को वास्तविक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । राईले सो मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत् पीडित किशोरीको तस्विर सार्वजनिक गरेका थिए ।
त्यसबारे पीडित किशोरीको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर व्यूरोले राईलाई चिचिलाबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए । प्रहरीले उनलाई बुधबारै काठमाडौं ल्याएको छ ।
लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।