सुर्खेत, ३ माघ । घरनजिक मृत भेटिएका युवकको हत्या भएको खुलेको छ । सोमबार राति उनी आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै मृत फेला परेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान १ बजे घर नजिकै २१ वर्षीया युवक मृत भेटिएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनास्थलमा तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानबाट ती युवकको हत्या भएको अनुमान गरेको हो । घटनास्थल पुगेकामध्ये एक प्रहरी अधिकारीले ती युवकको शरीरमा धारिलो हतियार प्रहार भएको बताएका छन् ।
‘घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिन्छ,’ ती प्रहरी अधिकारीले भन्नुभयो , ‘उनको शरीरमा धारिलो हतियार प्रहार भएको छ, युवकको शव नजिकै बञ्चरो पनि फेला परेको छ ।’
प्रहरीले घटनास्थलको मुचुल्का गरी युवकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाएको छ । हत्या भएको प्रारम्भिक अनुमानपछि प्रहरीले त्यसमा संलग्नहरूको खोजी समेत गरिररहेको छ ।
मंगलबार युवक मृत भेटिएको स्थानमा उनकी बहिनी घाइते फेला परेकी थिइन् । दाजुको हत्या र बहिनी घाइते अवस्थामा भेटिएपछि प्रहरीले चार महिना अघिको बलात्कारको घटनासँग मंगलबारको घटना सम्बन्धित रहेको अनुमान गरेको छ । चार महिनाअघि असोजमा उनकी बहिनीमाथि बलात्कार भएको थियो। बलात्कार आरोपी उनैका बाबु थिए ।
बाबुले बलात्कार गरेको घटना किशोरीले आफ्ना दाइलाई भनेका थिए । त्यतिबेला दाइले नै प्रहरीलाई जाहेरी दिन बहिनीलाई सघाएका थिए ।
किशोरीका दाइ र जिल्लाकै एउटा गैरसरकारी संस्थाको सहयोगमा कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाको जाहेरी दर्ता भएको थियो । बहिनीको न्यायका लागि साथ दिएको कारण चार महिनापछि युवकको हत्या भएको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार उनका बाबु भारतमा बस्दै आएका थिए। घरमा दाजुबहिनीमात्र बस्थे। गत असोजमा भारतबाट घर आएका बाबुले त्यतिबेलै किशोरी छोरीमाथि बलात्कार गरेका थिए ।
प्रहरीमा जाहेरी पुगेपछि भारत भागेका उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना प्रहरीले पाएको छ । उनैले किशोर छोराको हत्या गरेको अनुमान गरिएको छ । बुवा भने अझै फरार छन्।