गोरखा, २ माघ । जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय गोरखा मार्फत सञ्चालित थोरै बजेटका धेरै योजनाहरु बिनियोजना हुँदा अपेक्षाकृत नतिजा देखिने गरी काम हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयबाट सञ्चालित योजनाहरु धेरैजसो टुक्रे योजनाहरु रहेकाले देखिने काम हुन नसकेको कार्यालय प्रमुख मिलन पौडेलले बताउनुभयो । कार्यालय मार्फत चालु आर्थिक बर्ष ०८०÷०८१ मा मात्र करिब एक सय ५५ वटा योजना बिनियोजन भएकोमा अधिकांस योजना साना र टुक्रे योजनाहरु रहेको उहाँको भनाई छ ।
चालु आर्थिक बर्षमा कार्यालयमा बिनियोजन भएका मध्ये ३४ योजनाहरु १० लाख रुपैयाभन्दा कम बजेटका रहेका छन् । ‘‘जनप्रतिनिधिहरुले जनताको माग सम्बोधन गर्नका लागि थोरै बजेटको भएपनि योजना छुट्याउनै पर्ने बाध्यता पनि छ, प्रमुख पौडेलले भन्नुभयो, ‘‘थोरै लागतमा काम त बजेट अनुसार नै सम्पन्न हुन्छ तर सोचे जस्तो नतिजा देखिने अवस्था भने हुँदैन ।’’
उहाँका अनुसार कार्यालयमा बिनियोजन भएका मध्ये करिब ८२ वटा योजना १० लाख रुपैयाको रहेको छ । त्यस्तै ३९ वटा योजना मात्र १० लाख रुपैया भन्दा बढीको रहेको प्रमुख पौडेलको भनाई छ । ‘‘विनियोजित बजेट र कार्यक्रम हेर्दा अहिले कार्यालयमा अहिले रहेको दरवन्दी पूर्ण हुँदा समेत कर्मचारी अपुग हुने अवस्था छ, उहाँले भन्नुभयो, ‘‘योजना धेरै तर बजेट थोरै हुँदा जनशक्ति धेरै चाहिने र अपेक्षा अनुसार काम देखिन सकिरहेको छैन ।’’
बजेट अनुसारको कार्यान्वयन र गुणस्तर कायम गरेर काम गरेपनि थोरै बजेटमा गरिने कामले जनतालाई सन्तुष्ट बनाउन पनि नसक्ने र काम भएको पनि नदेखिने गरेको प्रमुख पौडेलको भनाई छ । ‘‘थोरै बजेट भएपनि कार्यालयको जनशक्ति पुग्नै पर्ने तथा अनुगमन गर्नेपर्ने हुन्छ, उहाँले भन्नुभयो, ‘‘ तर बजेट थोरै भएका योजना धेरै हुँदा जनशक्तिको खर्च उत्तिनै भएपनि जनशक्ति खर्च भए अनुसारको काम देखिने गरेको छैन ।’’
योजनाको संख्या हेर्दा कार्यालयमा अहिले भएको दरबन्दीले समेत नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । ‘‘कतिपय बजेटले ५० मिटर बनाउनुपर्ने ठाउँमा १० मिटर मात्र बन्ने गरी बजेट बिनियोजन भएको हुन्छ, उहाँले भन्नुभयो, यसरी काम गर्दा जनशक्तिको अनुगमन, योजना निर्माण लगायतको खर्च उत्तिनै हुन्छ तर नतिजा राम्रो देखिदैन ।’’
उहाँले कनिका छरे जसरी बजेट छरेर नजिता नदिने बताउनुभयो । ‘‘एउटै योजनाका लागि ५÷७ पटक जानुपर्ने अबस्था पनि हुनसक्छ, उहाँले भन्नुभयो, ‘‘तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई तीन पटक मात्र प्राविधिक फिल्डमा पठाउनु पर्ने वाध्यता हुन्छ ।’’