चितवन, २९ पुस । माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि मुग्लिन(नारायणगढ सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ । मुग्लिन(नागढुंगा आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिनुभयो ।
मुग्लिन(नारायणगढ सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो ।
यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ । पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ ।