गोरखा, २९ पुस : उत्तरी गोरखाको छेकम्पार स्थित एक होटलमा गएराती आगलागी हुँदा एक करोड रुपैया भन्दाबढीको क्षति भएको छ । चुमनुब्री गाउँपालिका वडा नम्बर ७ मा पर्ने छेकम्पारमा रहेको ट्रेकस होम होटलमा गएराती आगलागी भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
‘‘आगलागीबाट होटल पूर्ण रुपमा जलेर नष्ट भएको छ, उहाँले भन्नुभयो, ‘‘रातको समयमा होटलमा कोहीपनि नभएका बेला आगलागी भएकाले मानवीय क्षति भने हुन पाएन ।’’ केही समयअघि मात्र छेकम्पारमा सञ्चालन आएको होटल आगलागीबाट नष्ट भएको उहाँले बताउनुभयो ।
स्थानीय छिरिङ नोर्कै लामाले सञ्चालन गर्दै आउनु भएको होटलमा आगोलागी भएको हो । आगलागीबाट होटल भित्र रहेका सवै सामाग्री जलेर नष्ट भएको छ । होटल सञ्चालक काठमाण्डौँमा अध्ययरत छोराछोरीलाई लिन गएका बेला होटलमा आगलागी भएको पालिका अध्यक्ष लामाले बताउनुभयो ।
गएराती करिब १ बजेतिरबाट होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगो स्थानीयबासी र प्रहरी मिलेर करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी छेकम्पारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।