गोरखा, २९ पुस : उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवती महिलाहरुका लागि गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्र्तगत पालिका भित्रका सम्पूर्ण गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सेवाको सुविधा उपलब्ध गराउन सुरु गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
गर्भवती महिला र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न गोरखा अस्पताल लगायतका अन्य अस्पतालसम्म धाउनुपर्ने बाध्यता रहदै आएकोमा गाउँपालिकाले गाउँमै ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको उहाँको भनाई छ । कार्यक्रमबाट चालु आर्थिक बर्षको पहिलो चार महिनाको अवधीमा पालिका भित्र रहेका २९ जना गर्भवती महिलाले सेवा लिएका छन् ।
‘‘भौगोलिक हिसावले अत्यन्तै जटिलता रहेको धार्चे गाउँपालिकाको सवै वडाहरुमा यातायातको सहज पहुँच छैन, अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘यस्तो कठिनाइका बिच पनि गर्भवती महिलाहरुको स्वास्थ्य जाँचका लागि अन्यत्र अस्पतालसम्म धाएर पुग्नुपर्ने भएकाले गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मी पठाएर घुम्ती सेवा मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ ।’’
ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएपछि गाउँमा रहेका गर्भवती महिलाको गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको उहाँले बताउनभयो । ‘‘पालिका भित्रका सवै वडामा रहेका सवै गर्भवती महिला सेवा पु¥याइएको छ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले भन्नुभयो, ‘‘भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अबस्था बुझ्न सजिलो भएको छ ।’’
‘‘प्रोटेबल भिडियो एक्सरे मेसिन बोकेर स्वास्थ्यकर्मी घुम्ती शिविरमा जाने गर्भवती महिलाहरुको गर्भ जाँच गर्दछन्, उहाँले भन्नुभयो,‘‘ गर्भजाँचबाट गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याहरुको पहिचान गर्न सजिलो भएको छ ।’’
अहिले पालिका भित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसंगै गर्भावस्थामा हुनेसक्ने समस्याहरुको समयमा नै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ । कार्यक्रमबाट गर्भवती महिला र गर्भमा रहेका शिशुको ज्यानको जोखिम न्युनीकरण महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । (रासस)