गोरखा, २३ पुस । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले प्रसिद्ध रहेको गोरखाको गोरखनाथ कालिका मन्दिरदेखि भारतको गोरखपुर उत्तरप्रदेश गोरखनाथ मन्दिरसम्म खिचडी यात्रा गरिने भएको छ । गौ माता सेवा महासंघ नेपाल गोरखाको आयोजना माघी पर्वको अवसरमा गोरखपुर स्थित गोरखनाथ मन्दिरमा गोरखाको गोरखनाथ मन्दिरको खिचडी चढाउने गरी खिचडी यात्रा गर्न लागिएको संयोजक होमसिंह बस्न्यातले जानकारी दिनुभयो ।
यात्रामा गोरखा १ सय ८ जनाको सहभागिता रहने उहाँले बताउनुभयो । ‘‘प्राचिनकालदेखि नै गोरखाको गोरखनाथ कालिका मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन रहेको थियो, संयोजक बस्न्यातले भन्नुभयो, ‘‘तर गएको २० बर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइएको छ, उक्त परम्परालाई जोगाई राख्न यसबर्षदेखि पुनः खिचडी चढाउन सुरु गर्न लागिएको हो । ’’
चामल, दाल, ध्यू, नुन, बेसार लगायतका खाद्यबस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरका पुजारीबाट गोरखनाथ गुफाको प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन दिउँसो ब्रहममूर्तको समयमा चढाएपछि मात्र खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।
२० बर्षअघिसम्म गोरखाको गोरखानाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भएपनि उक्त परम्परा बन्द भएपनि त्यहाँ नेपाली भूमिबाट थोरै चामल, ध्यू, नुन, मासको दाल, बेसार लगायतका खाद्यबस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरिएको त्यहाँस्थित मन्दिरका पूजारीको भनाई छ ।
गोरखाबाट खिचडी यात्रा यहीँ पुस २९ गते निस्कने उहाँको भनाई छ । ‘विहान ७ बजे गोरखनाथ मन्दिरबाट खिचडीसंगै बाजागाजा मंगलधुन स्वतिक वाचन सहित गोरखाबाट गोरखपुर यात्रा आरम्भ हुन्छ, संयोजक बस्न्यातले भन्नुभयो, ‘‘गोरखपुर पुगेर त्यहाँ स्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर टोली गोरखा फर्कने कार्यक्रम छ ।’’
परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत लिइएको छ । खिचडी पु¥याउने परम्पराको पुनः थालनी गरेसंगै उत्तर प्रदेश र गोरखा बिचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्ला भित्रका लाखौ धार्मिक पर्यटक समेत भित्र्याउन सकिने उहाँको भनाई छ ।