Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कांग्रेसले छानेको राष्ट्रिय सभा उम्मेदवारमा गगन र केसीद्वयले राखेको फरक मत


3.1K
Shares

कांग्रेसले छानेको राष्ट्रिय सभा उम्मेदवारमा गगन र केसीद्वयले राखेको फरक मत

काठमाडौं,२३ पुस । नेपाली कांग्रेसले टुंगो लगाएको राष्ट्रिय सभाको उम्मेदवारबारे महामन्त्री गगनकुमार थापा र नेताद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका छन ।

थापाले उम्मेदवारी चयनको विषयलाई लिएर लिखित रूपमै दुई बुँदे फरक मत राखेका छन्। उनले उम्मेदवार टुंगो लगाउने विषयमा पार्टीको कार्यसम्पादन समितिको बैठकले नै तय मापदण्ड लागू नभएको गुनासो गर्नुभयो ।

केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले ’हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने’ गरी मापदण्ड तय गरे पनि राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाउँदा संसदीय बोर्डको त्यसमा ध्यान नपुर्‍याएको उहाँले बताउनुभयो ।

‘संसदीय बोर्डको आजको बैठकले उम्मेदवार चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन,’ थापाले बैठकमा राखेको लिखित फरक मतमा उल्लेख छ, ’यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ।’

पार्टीभित्र बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने महामन्त्री थापाले बताएका छन् । तर यस्ता निर्णयले पार्टीमा कुनै आग्रह नराखीकन निर्णय हुन्छ र सबैलाई न्याय तथा अवसर मिल्छ भन्ने विश्वासलाई पुनः खण्डित गरेको थापाको भनाइ छ । त्यस्तै नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि उम्मेदवार छनोट न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाए ।

‘मधेसमा मधेसले नै प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने उहाँहरूको माग हो,’ एक नेताले भने, ‘मन्त्री पाउँदा रमेश रिजाल, राष्ट्रिय सभामा आनन्द ढुंगाना ? मधेसमा उनीहरूको ठाउँ खोसियो।’

उम्मेदवारका विषयमा भएको विवादमा सहमति निकाल्न सभापति शेरबहादुर देउवासहित शीर्ष नेता रातभर सानेपास्थित केन्द्रीय कार्यालयमा बसेका थिए।

नेता शेखर कोइरालासहित संस्थापनइतर पक्षले १० मध्ये चार सिटको अडान राखेपछि रातभर सहमति हुन सकेको थिएन । सोमबार बिहान मात्रै उम्मेदवारको टुंगो लागेको थियो । कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार नै सहमति बनेको थियो । उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी कांग्रेसले यसपालि चुनावी मैदानमा उतारेको छ ।

मधेसमा आनन्द ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार, लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology