गोरखा, १९ पुस । गोरखा जिल्ला भित्रका बिभिन्न ६ वटा स्थानीय तहहरुलाई निशुल्क एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बिच ‘सम्भव छ नेपाल’ नामक एक गैह्रसरकारी संस्थाले स्थानीय तहरुलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिनुभयो ।
संस्थाले जिल्लाको गण्डकी गाउँपालिका, आरुघाट गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको उहाँले बताउनुभयो । अहिले वितरण गरिएको एम्बुलेन्स ‘ख’ बर्गको हो ।
संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतहरुलाई साँचो हस्तान्तरण गरेर उपलब्ध गराउनु भएको हो । एम्बुलेन्ससंगै संस्थाले पालिकाहरुलाई औषधी समेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
एम्बुलेन्स तथा औषधी सहित संस्थाले पालिकाहरुलाई करिब २ करोड ८० लाख रुपैया बराबरको सामग्री वितरण गरेको हो । संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने उहाँको भनाई छ । यसअघि पनि संस्थाले गोरखा बिभिन्न पालिकाहरुलाई निशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।