काठमाडौं, १६ पुस । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र छिरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन् ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् ।
उनीहरूले मान्छे मार्न पाइँदैन, नो एमसीसी लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए। सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए । प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु पनि कार्यालयमै थिए ।
संगठनले बालुवाटारस्थित प्रधानमन्त्री निवास गेट, सर्वोच्च अदालतको मूल गेट, संसद् भवनको तीन नम्बर र दुई नम्बर गेट र पुल्चोकस्थित मन्त्री निवासमा पनि अर्धनग्न प्रदर्शन गरिएको जनाएको छ। सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन यस्तो प्रदर्शन गरिएको संगठनको भनाइ छ ।
यसअघि संगठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत यही पुस ३ गते २० बुँदे ज्ञापनपत्र बुझाएका थियो। ज्ञापनपत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको हो ।