जनकपुर, ९ पुस । जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक प्रक्रिया पुरा गरी करागार चलान गरिने धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो । गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिए बमोजिम उनलाई पक्राउ गरिएको एसपी शर्माले बताउनुभयो ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन् । उनलाई परिवारले उपचारको लागि भन्दै काव्या अस्पताल लगेपछि घटनाबारे प्रहरीले थाहा पाएको थियो । आरतीकी माइती पक्षले श्रीमान, देवर, ससुरा लगायतले हत्या गरी झुण्ड्याएको आरोप लगाउँदै आएको छ।
यो मुद्दामा धनुषा जिल्ला अदालतले आरतीकी श्रीमान मोतीबाबु र ससुरा मदनमोहन व्याहुत सुँडीलाई थुनामा पठाउने आदेश दिएको थियो । तर असोज १८मा उच्च अदालत जनकपुरले थुनामा रहेका दुबैजनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरूद्ध आरतीकी परिवार सर्वोच्च अदालत पुगेको थियो । उक्त रिटमा माथिको सुनुवाइमा आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना छन् ।