गोरखा, ४ पुस : लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४, लाप्राक स्थित एकिकृत नमुनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालन सम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जिविकोपार्जन पुनरुत्थानको लागि दिगो पर्यटन परियोजना विचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशिलता सिप विकास कार्यक्रम अन्तरगत सिपमुलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
घरबासका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत सत्कारसंगै स्थानीय उत्पादनका परिकारहरु बनाएर खुवाउन सिकाउने उद्देस्यले गुप्सी नमुनाबस्ती सामुदायिक घरबासका सञ्चालकहरुलाई ७ दिने तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । ‘‘स्थानीय उत्पादनका पनि मिठा मिठा परिकार बनाएर पाहुनाहरुलाई सेवा गर्न सकिन्छ तर तालिमको अभाव समस्या हुँदै आएको थियो, उहाँले भन्नुभयो, ‘‘यो तालिमबाट घरबासमा आउने पर्यटकको मन कसरी लोभ्याउने भन्ने जानकारी प्राप्त गरेका छन् ।’’
तालिममा १९ जनाको सहभागिता रहेको थियो । पाहुनाहरुका लागि स्थानीय परिकारहरु मार्फत खुशी बनाउन सके स्थानीय उत्पादनको बिक्री पनि हुने र सञ्चालकहरुले पनि राम्रो आम्दानी गर्न सक्ने भएकाले सिपमुलक तालिम प्रदान गरिएको उहाँको भनाई छ । । तालिममा सहभागीहरुलाई गुप्सीपाखाको आलुका बिभिन्न परिकारका बनाउन समेत सिकाइएको थियो । गुप्सीपाखाको आलु लोकप्रिय मानिन्छ ।
सहभागीहरुलाई प्रशिक्षकहरु सुरेश बास्तोला र राजकुमार लामिछानेले तालिम प्रदान गर्नुभएको थियो । प्रशिक्षकहरुले घरबास सञ्चालकहरुलाई गुणस्तरीय खानाका साथै पाहुनाहरुका लागि बसोबास व्यवस्थापन बारेमा समेत जानकारी प्रदान गरेका थिए । तालिमबाट घरबासको व्यवस्थापनका साथै नीतिगत बिषयमा समेत जानकारी प्राप्त गरेको गुप्सी नमुना होमस्टे सञ्चालक समितिका अध्यक्ष दलबिर गुरुङले जानकारी दिनुभयो ।
तालिम सञ्चालनका लागि गाउँपालिकाको ६४ प्रतिसत र नेपाल पर्यटन बोर्डको ३६ प्रतिसतको लागत साझेदारी रहेको थियो । तालिमको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । गोरखाको एक पर्यटक गन्तव्यको रुपमा रहेको लाप्राकमा रहेको एकिकृत नमुनाबस्ती हेर्न र त्यहाँको मनोरमदृष्यको अवलोकनका लागि पर्यटकहरु गुप्सीपाखा पुग्ने गर्दछन ।
पर्यटकीय हिसावले प्रसस्त सम्भावना रहेको धार्चे गाउँपालिकाले घरबास प्रर्वद्धनलाई पनि जोड दिदै आएको छ । रासस