गोरखा, ४ पुस : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५, विही स्थित पान्द्रुङमा भिरबाट खसेको ढुङगाले लागेर एक युवक गम्भीर घाइते भएका छन् । बाटोमा हिड्दै गरेका बेला भिरबाट खसेको ढुङगाले लागेर खच्चड गोठालो ३५ बर्षका केमी गुरुङ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
धार्चे गाउँपालिका–५, माछिखोलामा बस्दै आएका गुरुङको ढुङगाले लागेर बाँया खुट्टा भाच्चिएको छ । मंगलबार साँझ विहीबाट माछिखोला फर्कदै गर्दा ढुङ्गाले लागेर गुरुङ सडकबाट झण्डै ५० मिटर तल खसेका थिए । स्थानीयबासीहरु देखेपछि डेरीको सहायताले उद्धार गरेका थिए ।
घाइतेको टाउको लगायतका शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेको छ । उहाँलाई उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरेर काठमाण्डौ लैजाने तयारी भएपनि मौसम खराबीका कारण समस्या भइरहेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । घाइतेको अहिले विही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।