गोरखा ३ पुस । अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले अजिरकोटलाई पारदर्शी, सम्बृद्ध र आत्मानिर्भर बनाउन स्थानीय सरकारले दिनरात प्रयत्न गरिरहेको बताउनुभएको छ । गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०÷०८१ को पहिलो चौमासिक अन्तरगत सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीलाई सम्वोधन गनुहुँदै उहाँले अजिरकोटका जनतालाई कसरी खुशी बनाउन सकिन्छ भन्नेमा योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभयो ।
अजिरकोटको सुन्दर भविस्यका लागि अजिरकोटमै मानिसहरुलाई जीवन देखाउन सक्नुपर्छ भन्नेमा स्थानीय सरकारले मनन गरिरहेको उहाँको भनाई छ । युवायुवतीहरु देश छोडेर बिदेशिने क्रममा बढ्दै जाँदा विकास कसका लागि गर्ने भन्ने चिन्ता समेत लाग्ने गरेको अध्यक्ष देवकोटाले बताउनुभयो ।
‘‘अहिलेको अबस्थालाई परिवर्तन गर्न नसकिए गाउँहरु रित्तो हुने अवस्था नआउला भन्न सकिदैन, अध्यक्ष देवकोटाले भन्नुभयो, ‘‘‘सवैका छोराहरु, सवैका छोरीहरु, सवैका आफ्न्तहरु बिदेशमा छन्, उमेर पुगेका जेष्ठ नागरिकहरु मात्र गाउँमा छन्, गाउँ खण्डहर बन्दै गएको छ ।’’
मानिसहरुलाई गाउँमै जीवन देखाउन सक्नुपर्ने वेला आएको समेत उहाँको भनाई छ । ‘‘सवैले जीवन गाउँघरमा होइन नेपालमा पनि होइन विदेशमा देख्न थालेका छन्, अध्यक्ष देवकोटाले भन्नुभयो, ‘‘नेपालको विद्यमान यस्तो अवस्था छ यसलाई अन्त्य गर्नैपर्छ के हामी यो स्थितीलाई बदल्न सक्छौ भन्ने गम्भीर प्रश्न आफैले आफैलाई गरिरहनु परेको छ ।’’
अहिले जटिल अवस्थामा स्थानीय सरकारको प्रमुख भएर बसेकाले यस्तो जटिल परिस्थितीलाई कसरी बदल्न सकिन्छ भनेर दिनरात आफु पिरोलिरहेको बताउनुभयो । उहाँले स्थानीय सरकार, प्रदेश र संघ सरकार एक अर्कामा परिपुरक भएर मात्र अहिलेको बिकराल अवस्थाको अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो ।
‘‘देशभरका ७५३ स्थानीय सरकार मध्ये अजिरकोट गाउँपालिका यि सवै प्रकारका दुराअवस्थाबाट मुक्त हुनुपर्छ भनेर मैले सवै कर्मचारी र जनप्रतिनिधिहरुलाई पनि भनिरहेको छु, अध्यक्ष देवकोटाले भन्नुभयो,‘‘जनताको आकाक्षा धेरै भएपनि स्रोत र साधनको भने अहिले अभाव छ ।’’
संघ र प्रदेश सरकारको भरमा स्थानीय सरकार चल्नु पर्ने वाध्यात्मक अवस्था अहिले रहेकाले स्थानीय सरकारलाई आत्मानिर्भर बनाउने तर्फ लाग्नुपर्ने अहिले आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । ‘‘चालु आर्थिक बर्षमा ५० करोडको बजेट प्रक्षेपण गरेका छौ तर गाउँपालिकाले प्रक्षेपण गरेको राजस्व आम्दानी भनेको ७२ लाख रुपैया हो, अध्यक्ष देवकोटाले भन्नुभयो, झण्डै ४९ करोड बजेट परनिर्भरताको अवस्थामा हामी छौ । ’’
तीनवटा सरकारले मध्ये स्थानीय जनजीवनसंग जोडिएको जनताको सहज पहुँच रहेको सरकार र जवाफदेहिताको सरकार भएकाले स्थानीय सरकारले देशलाई सुशासन तर्फ लैजान, सम्बृद्धि तर्फ लैजान स्थानीय सरकार जिम्मेवार, सम्वेदनशिल र जवाफदेही छ भन्ने कुराले निर्धारण गर्ने अध्यक्ष देवकोटाको भनाई छ ।
उहाँले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको प्राप्ती पछि स्थानीय सरकारको अनुभूति जनताले गर्न पाएको भन्दै उहाँले अहिले यदाकदा यसै माथि प्रश्न उठ्न थालेकाले स्थानीय सरकारले दिने कार्य सम्पादनले नै यसको उत्तर दिनसक्नु पर्नेमा जोडदिनुभयो ।