काठमाडौं, २६ मंसिर । यू(१९ एसिया कप अन्तर्गत भारतविरूद्ध नेपालले खराब ब्याटिङ गरेको छ । दुबईस्थित आइसिसी एकेडेमी ओभल(२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १० ओभर नसकिदै पाँच विकेट गुमाइसकेको छ ।
पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गर्नुभयो । नेपालले सातौं ओभरमा दोस्रो बलमा दोस्रो विकेट गुमायो। उत्तम थापा मगर शुन्यमा राजबाटै बोल्ड भए। यस्तै आठौं ओभरमा तेस्रो बलमा अर्जुन कुमाल ७ रनमा क्याच भए ।
यस्तै नेपालले कप्तान देव खनाल नवौ पाँचौ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट भए। दुवैलाई राज लिम्बानीले पेभिलियनको बाटो देखाए । समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन् ।
यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।
नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ। समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन।
आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ। अफगानिस्तान र पाकिस्तान बीचको खेल पनि अहिले भइरहेको छ।