Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुढीगण्डकी जलासययुक्त परियोजना सफल बनाउनै पर्छ : अध्यक्ष ओली


1.3K
Shares

बुढीगण्डकी जलासययुक्त परियोजना सफल बनाउनै पर्छ : अध्यक्ष ओली

गोरखा, २३ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणलाई जसरी पनि सफल बनाउनैपर्ने बताउनु भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभन्ज्याङ सम्बद्धिका लागि संकल्प यात्रा २०८० अन्र्तगत गोरखा आइपुग्नु भएका उहाँले आज विहान सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्वोधन गर्नुहुँदै बुढीगण्डकी परियोजना सफल बनाउनैपर्ने बताउनु भएको हो ।

‘‘बुढीगण्डकी आयोजना निर्माण सफल बनाउनै पर्छ, अध्यक्ष ओलीले भन्नुभयो, ‘‘धेरै रकम मुआब्जा दिइसकेका छौ, ठूलो क्षेत्रफलको मुआब्जा दिइसकेका छौ, सरकारले अघिग्रहण गरेको क्षेत्रमा डुवाउने वाहेक अरु केही गर्न सक्दैन त्यसैले आयोजना निर्माण गर्नैपर्छ । आयोजना निर्माणका लागि आफुहरुको सरकारलाई घचघच्याउने काम समेत गरिरहेको उहाँको बताउनुभयो ।

अहिलेको अवस्थामा आगामी केही बर्षसम्म नेपालले आफ्नै लगानीमा बुढीगण्डकी आयोजना बनाउने भन्ने कुरा सम्भव नदेखेको पनि अध्यक्ष ओलीको भनाई छ । ‘‘हामीले सम्भव हुनेखालका कुरा गर्नुपर्थ्यो, उहाँले भन्नुभयो ‘‘अहिले कर्मचारीलाई तलव खुवाउन आन्तरिक ऋण उठाइरहनु परेको अवस्था छ, बुढीगण्डकी आफैले बनाउछौ भनेर सरकारले धाक लगाइरहेको छ ।’’

उहाँले परियोजनाहरु निर्माणका लागि एउटा देशलाई दिन हुने र अर्कोलाई दिन नहुने भन्ने नरहेको बताउनुभयो । ‘‘नेपालका परियोजना निर्माणका गर्दा नेपालका लागि फाइदा हुनेगरी जुन देशले लगानी गर्छ हामी त्यहीँ देशलाई बनाउन दिन्छौ, उहाँले भन्नुभयो, नेपाललाई जहाँबाट फाइदा हुन्छ त्यहीँबाट सहयोग लिन्छ ।’

आयोजना निर्माणका लागि ढिलाभयो भन्दैमा सरकारले अघिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने बताउनुभयो । ‘‘कँहीकँही अलिकति ढिला भएपछि मुआब्जा लिइसकेको जग्गा आफैले फेरी कब्जा गरिदिने र बिभिन्न बाहानामा अर्को समस्या सृजना गर्ने अवस्था पनि आउछ हामीले कसैले त्यसो गर्नुहुँदैन ।’’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले मुआब्जा लिएका क्षेत्रका जनताले डुवान नहुँदासम्म खेतीपाती गरेर खानु उचित हुने समेत बताउनुभयो । ‘‘जलासययुक्त आयोजना तयार भएर नडुवेसम्म तपाईहरुले खेती लगाएर खाए हुन्छ, उहाँले भन्नुभयो, त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोडीदिनुपर्ने केही आवश्यकता छैन, डुवान नहुँदासम्म स्थानीय जनताले जेजे लाभ लिनसकिन्छ लिनु उचित हुन्छ ।’’

अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाई भएको भन्दै असन्तुष्टी समेत व्यक्त गर्नुभयो । अर्कोफरक प्रंसगमा उहाँले राजनीतिलाई स्वस्थ्य र स्वच्छ बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ । ‘‘कि त लोकतन्त्र हुनै भएन लोकतन्त्र भएपछि प्रतिस्पर्धा हुन्छ, उहाँले भन्नुभयो, हामीले छानेर रोजेरै ल्याएको व्यवस्था हो प्रतिस्पर्धाको प्रणाली, तर प्रतिस्पर्धा भनेको मारामार होइन,लोकतन्त्रमा प्रतिस्पर्धाबाट काम गरेर देखाउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology