धनबहादुर तामाङ
गोरखा, २२ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्र्तगत गोरखाको पालुङटारमा आज आयोजित कोणसभामा उहाँले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताउनुभयो । उहाँले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यकपर्ने समेत दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यता रहेको औँल्याउनुभयो । अध्यक्ष ओलीले एमालेलाई सवैतिरबाट घेरा हालेर ध्वस्त पार्न खोजिएको समेत आरोप लगाउनुभयो । ‘‘कम्युनिष्ट नेतृत्वको दुई तिहाइको सरकार थियो, दुई तिहाइको हैसियत थियो, उहाँले भन्नुभयो, ‘‘सात प्रदेशमध्ये ६ वटा प्रदेशमा कम्युनिष्ट सरकार थियो त्यसलाई तोड्नेहरु अरु कोही होइनन् वामपन्थीहरु भन्नेहरु नै हुन् ।’’
सवै तत्वहरु मिलेर एमालेलाई समाप्त पार्न खोज्दा समेत एमाले अहिले पनि देशको सवैभन्दा लोकप्रिय पार्टी रहेको भन्दै उहाँले त्यो पर्याप्त भने नभएको बताउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई सम्बृद्धि बनाउन चाहेको बताउदैँ सम्बृद्ध नेपाल सुखी नेपालीको आकाँक्षा पुरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यता रहेको औल्याउनुभयो । अभियानअन्तर्गत शनिबार बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।
ओलीले एमाले देशमा नभएको भए ठुला ठुला परिवर्तन हुन नसक्ने समेत जिकिर गर्नुभयो । यो देशमा नेकपा एमाले भन्ने पार्टि भएको कारण प्रजातन्त्र आएको राजतन्त्र गएको र गणतन्त्र आएको उहाँको दावी थियो । एमाले सरकारमा रहदा कुनै पनि बाहिरी शक्तिहरुले आँखा लगाउन नसकेको भन्दै अहिले बैदेशिक हस्तक्षेप हुँदा समेत सरकार चुप लागेर बसेको ओलीको आरोप छ ।