Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाइदिने


973
Shares

कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाइदिने

काठमाडौँ, ११ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् । कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन् ।

वि.सं. २०७७ जेठमा चालिसेको मृत्यु हुँदा चालिसेका छोरा सफल ९ दिनका मात्र थिए । मन्त्री बस्नेतले आज सफललाई काठमाडौँको टोखा नगरपालिका ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उहाँले चालिसेका छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताउनुभयो । “कोरोनाका कारण सावित्रीको दुःखद निधन भएपछि मैले घोषणा गरेको थिएँ, उहाँको ९ दिनको बच्चा सफलको पढाईमा लाग्ने सम्पूर्ण खर्च म आफैँ व्यहोर्छु, अहिले उहाँको भर्ना गर्न पाउँदा म ज्यादै खुशी छु, कक्षा १२ सम्म पढाएर जागिरको व्यवस्थासमेत मैले गर्नेछु’– मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने समेत बताउनुभयो । उहाँले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत स्मरण गर्नुभयो ।

विद्यालयका प्राचार्य अधिकारीले कोरोनाबाट ज्यान गुमाएका परिवारको शिक्षा क्षेत्रमा सहयोग गरेको भन्दै मन्त्री बस्नेतलाई धन्यवाद दिनुभयो । प्राचार्य अधिकारीले मृतक चालिसेको जेठो छोरोसमेत पहिलेदेखि नै आफ्नो विद्यार्थी भएकाले कोरोनामा दुःखद निधन भएसँगै जेठो छोराको पठनपाठनमा विद्यालयले सहयोग गरेको उल्लेख गर्नुभयो ।

वि।सं। २०५७ सालमा स्थापना भएको कान्तिपुर इङ्लिस एकेडेमीमा हाल ५५० विद्यार्थी अध्ययनरत छन् । मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतीको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गर्नुभएको भन्दै आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology