गोरखा, १० मंसिर । नेकपा माओवादी केन्द्र भीमसेन थापा गाउँपार्टी समितिले पालिका भित्र पाटीले सञ्चालन गरेको दुई महिने अभियानको आज समिक्षा गरेको छ ।
गाउँपार्टी समितिका अध्यक्ष सुजन पाण्डे (विनोद) को अध्यक्षतामा वसेको बैठकमा पार्टी सञ्चालन गरेको माओवादी विशेष रुपान्तरण अभियानको पहिलो र दोस्रो चरणको कार्यक्रमको समिक्षा गरेको हो । पार्टीले पालिका भित्र सञ्चालन गरेको अभियान प्रभावकारी भएको, संगठन चलायमान बनाउन अभियानले सहयोग पुगेको निस्कर्ष बैठकले निकालेको छ ।
त्यस्तै अभियान अन्र्तगत मंङ्सिर १६ गतेदेखि पुनः पार्टी सदस्यता नवीकरण, वडा तथा टोल र सेट समितिको भेला, खाली रहेका पदहरुको पदपूर्ति लगायतलाई तिव्रता दिने निर्णय बैठकले गरेको पार्टी सचिव मदन शाक्यले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भीमसेन थापा गाउँपालिका इन्चार्ज लोकप्रसाद बन्जराले अभियानले पार्टी नयाँ उचाई दिदै लगेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले आफुले के पाए भन्दापनि समाज र समुदायले के प्राप्त गरे भन्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य बन्जराले माओवादीले सत्ता नेतृत्वमा पुगे गरिव जनताको दैनिक जीवनमा परिवर्तनको अनुभूति भएमात्र परिवर्तनको महसुुस हुनसक्ने भन्दै पार्टी समिति र संगठनले त्यस तर्फ योजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।
बैठकमा गण्डकी प्रदेश समितिका सल्लाहकार गोपाल बराइलीले नेकपा माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिकामा सरकारको नेतृत्व लिएसंगै गाउँपालिकाका जनताले शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाकलाप क्षेत्र साँच्चै स्थानीय सरकारको अनुभूति गरेको बताउनुभयो ।
उहाँले पार्टी नेतृत्वको स्थानीय सरकारले गरेका राम्रा कामलाई प्रचारप्रसार लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।