Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बीउको अभावमा करिव डेढ करोडको आलु उत्पादन कार्यक्रम रोकियो 


1.5K
Shares

गोरखामा बीउको अभावमा करिव डेढ करोडको आलु उत्पादन कार्यक्रम रोकियो 

गोरखा, ७ मङ्सिर । गोरखामा किसानहरुको आर्थिक आयआर्जन बृद्धिका लागि करिब डेढ करोड रुपैया बजेट बिनियोजन भएर आएको ‘‘समुदाय स्तरमा प्रसोधन योग्य आलु उत्पादन कार्यक्रम’’ रोकिएको छ । कृषि ज्ञानकेन्द्र गोरखा मार्फत लागू गर्ने गरी बिनियोजन भएको एक करोड ४० लाख रुपैया बजेटको कार्यक्रम बीउको अभावका कारण स्थगित गर्नुपरेको कार्यालयका प्रमुख निलकण्ठ पोखरेलले जानकारी दिनुभयो ।

‘‘गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट चालु आर्थिक बर्षदेखि कार्यक्रम सञ्चालन गर्ने गरी प्रसोधन योग्य आलु उत्पादनका लागि बजेट बिनियोजन भएर आएको थियो, उहाँले भन्नुभयो, ‘‘तर आलु रोप्ने बेलामा बीउ नपाएपछि कार्यक्रम नै सञ्चालन गर्न सकिएन ।’’

केन्द्रले आलुको चिप्स गर्ने चिप्स उत्पादक कम्पनी फस्ट च्वाइस रुपन्देहीसंग किसानहरुले उत्पादन गर्ने आलु खरिद गर्नेगरी सम्झौता गरेर कार्यक्रम अगाडी बढाउने तयारी गरिएको भएपनि आलु रोप्ने समयमा बीउ नै पाउन नसकिएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।

‘‘मूल्य निर्धारण गरी किसानहरुले उत्पादन गरेका सवै आलु कम्पनीले खरिद गरिदिने र ज्ञानकेन्द्रले किसानलाई अनुदानमा बीउ दिनेगरी योजना बनाएर कार्यक्रम बनाइएको थियो, उहाँले भन्नुभयो, ‘‘आवश्यक बीउ समेत कम्पनीले उपलब्ध गराउने प्रतिवद्धता जनाएपनि आलु लगाउने बेलामा भने बीउ उपलब्ध गराउनै सकेन ।’’

ज्ञानकेन्द्रले गएको जेठ र असोजमा समेत कम्पनीसंग बीउ उपलब्ध गराउने बिषयमा पटकपटक छलफल समेत गरेको थियो । ‘‘छलफलका क्रममा कम्पनीले ढुक्क हुनुहोस् हामी चाहिए जति बीउ दिन्छौ भनेर प्रतिबद्धता ग¥यो, उहाँले भन्नुभयो, ‘‘कात्तिक तेस्रो सातासम्म पनि जहाँबाट भएपनि हामी नै ल्याएर दिन्छौ भन्यो तर अहिले आलु लगाउने बेलामा बीउ दिन नसकेपछि कार्यक्रम नै अघि बढाउन सकिएन ।’’

चिप्स उत्पादनका लागि कम्पनीसंग सम्झौता गरेर खुमल उत्सव, खुमल उज्वल र खुमल उपहार जातको आलु राम्रो हुने भएकाले यिनै प्रजातीको आलु लगाउने गरी कार्यक्रम तय गरिएको थियो । गोरखा जिल्ला भित्र करिब ६७ मेट्रिकटन उक्त जातको आलुको बिउ खरिद गरेर करिव एक हजार रोपनी क्षेत्रफलमा प्रसोधन योग्य आलु उत्पादन कार्यक्रम लागूगर्ने तयारी केन्द्रले गरेको थियो ।

‘‘कार्यक्रम अन्तरगत बीउ खरिदका लागि मात्र ५२ लाख रुपैया बजेट आएको थियो, प्रमुख पोखरेलले भन्नुभयो, ‘‘त्यसवाहेक किसानले उत्पादन गर्ने आलुमा प्रतिकेजी २ रुपैया प्रोत्साहन उपलब्ध गराउने, चिप्स बनाउने आलुको प्रर्दशनी, किसानहरुलाई तालिम लगायतका शिर्षकमा बजेट बिनियोजन भएर आएको थियो ।’’

कम्पनीले बीउ दिन नसकेपछि काभ्रे लगायतका क्षेत्रमा ज्ञानकेन्द्रले पनि बीउको खोजी गरेको भएपनि नपाएको उहाँको भनाई छ । कार्यक्रम संञ्चालन गर्न सकेको भए करिव २ हजार मेट्रिकटनसम्म आलु उत्पादन गर्ने लक्ष्य कार्यालयको रहेको थियो ।

कार्यक्रम कार्यान्वयन गर्न नसक्दा जिल्लाका २ सय ५० परिवार आर्थिक आयआर्जन बृद्धिको अवसरबाट बन्चित भएका छन् । आलु खेतीका लागि केन्द्रले गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकाका बिभिन्न क्षेत्र छनोट समेत गरिसकेको थियो ।

गण्डकी प्रदेश कृषि तथा भूमिव्यवस्था मन्त्रालयले यसबर्ष गोरखा सहितका बिभिन्न ६ जिल्लामा समुदाय स्तरमा प्रसोधन योग्य आलु उत्पादन कार्यक्रम लागू गर्ने गरी चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology