गोरखा, ७ मङ्सिर । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिर परिषरको सरसफाई गरिएको छ । मनकामना दर्शन प्रा.लिद्धारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५ औं बार्षिकत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिषरको सरसफाई गरिएको स्टेशन मेनेजर उज्वल शेरचनले जानकारी दिनुभयो ।
केबुलकारमा कार्यरत कर्मचारीको सहभागितामा मन्दिर र वरपर रहेका फोहोरलाई संकलन गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । त्यस्तै केवलकारको सवस्टेशनमा पर्ने चोरेस वरपरको पृथ्वीराजमार्ग अन्तरगत पर्ने सडक क्षेत्रमा समेत सरसफाई गरिएको शेरचनको भनाई छ ।
बि.स २०५५ साल मंसिर ८ औपचारिक रुपमा सञ्चालनमा आएको मनकामना केबुलकारले पर्सी शुक्रबार सेवा प्रारम्भ गरेको २५ बर्ष पुरा गर्दैछ । मनकामना केवलकार हुँदै गोरखाको सहिद लखन गाउँपालिकाको वडा नम्बर २ मा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्न सकिन्छ ।
केबुलकार सञ्चालनको अवधिमा अहिलेसम्म स्वदेशी तथा विदेशी गरी मनकामना केवलकार हुँदै करिब १ करोड ८१ लाखभन्दा बढी तिर्थयात्रीहरु मनकामना मन्दिर पुगिसेकेको सहायक स्टशेन म्यानेजर सुनिल कमाचार्यले जानकारी दिनुभयो ।
नेपाली, भारत लगायतका सार्क राष्ट्रबाट आउने पर्यटकहरु, चीन लगायतका अन्य बिभिन्न देशबाट मनकामना मन्दिर घुम्न आउने पर्यटकहरु मनकामना केबुलकार चढेर प्रसिद्ध मनकामना मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् ।
एनालग प्रविधिमा सञ्चालित मनकामना केबुलकारलाई आउदो बर्षदेखि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।