गोरखा, १९ कार्तिक। उत्तरी गोरखाको सामागाउँमा लडेर घाईते भएका १ जना विदेशी तथा स्वास्थ्यमा समस्या आएका १–१ जना विदेशी र नेपालीलाई आज बिहान हेली मार्फत उद्वार गरिएको छ । उद्वार गरिएका तिनै जनालाई बिहान राजधानीको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
प्राप्त जानकारी अनुसार आइतबार बिहान ८ः३० बजे एयर डानेष्टी मार्फत लेक लागेका डेनमार्कका नागरिक र बिहान ७ः३० बजे माउण्ट कैलास मार्फत लडेर हातमा चोट लागेका अष्ट्रेलियन नागरिक र रुघाखोकीले ग्रसित भएका नेपाली पोर्टरलाई उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार डेनमार्कका नागरिकलाई उद्वार लगत्तै राजधानीको लैनचौरमा रहेको क्यूनिटी अस्प्ताल र अष्ट्रेलियन तथा नेपाली नागरिकलाई सकन क्लिन अस्प्तालमा भर्ना गरिएको छ । उपचाररत तिनै जनाको स्वास्थ्य अवस्थामा सामान्य रहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।
घुम्न गएको अष्ट्रेलियन नागरिक ५३ बर्षिया माइकल कर्ल स्मिथ चुमनुब्री गाउँपालिका–१ को सामागाउँमा लडेर हातमा चोट लागेको थियो । त्यस्तैगरी, घुम्नकै लागि सामागाउँ पुगेकी डेनमार्ककी नागरिक ६१ बर्षिया रिनेट केस्टाइन कोचलाई लेक लागेर श्वासप्रस्वासमा समस्या आएको पनि प्रहरीले जानकारी दिएको छ ।