गोरखा, १४ कात्तिक । ग्रामिण क्षेत्रमा पनि बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाहरुले व्यवसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७, बुङ्कोट स्थित खाब्दीभन्ज्याङ्मा महिलाहरुले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
बुङ्कोट सामुदायिक सेवाकेन्द्रले लगनशिल आयआर्जन महिला समुहमा आबद्ध महिलाहरुको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पाटबाट टपरी बोता लगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले बताउनुभयो । पालिका भित्र अधिकांस भोज भतेरहरुमा प्लास्टिकबाट बनेका सामग्रीहरु प्रयोग हुन थालेपछि त्यसलाई बिस्थापित गर्न टपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।
‘पछिल्लो समय भोजभतेरहरुमा मात्र होइन हरेकजसो चिया पसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाहरुको प्रयोग बढ्न थाल्यो, उहाँले भन्नुभयो, ‘प्लाटिकबाट बनेको सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाई हुने, वातावरण पनि प्रदुशित हुने भएकाले सालको पातबाट बनेको टपरी र बोता प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको छ ।’’
प्लास्टिकका प्लेट, गिलास, चम्चा लगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसको निस्कने प्रदुषणले स्वास्थ्यमा पनि असर पु¥याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जंगलमा खेर गइरहेको सालको पातबाट गाउँमै दुना टपरी लगायत उत्पादन गर्न थालिएको अध्यक्ष मगरको भनाई छ ।
‘‘हाम्रा सामुदायिक बनमा खेर गइरहेका सालका पातहरु अहिलेसम्म हामीलाई पैसा पर्दैन, उहाँले भन्नभुयो, ‘‘बिरुवाको संरक्षण जर्गेना गरेर पातहरु सहजै ल्याउन सकिन्छ त्यसबाट टपरी र बोता उत्पादन गर्यौ भने दिदी बहिनीहरुको खेर गइरहेको समयको पनि सदुपयोग हुने, आयआर्जन पनि हुने र प्लास्टिकजन्य सामग्रीको गर्न पनि पर्दैन ।’’
उद्योगबाट स्थानीय महिलाहरुको आर्थिक आयआर्जन बृद्धिमा सहयोग पुग्ने केन्द्रकी परिचालक गीता श्रेष्ठले जानकारी दिनुभयो । ‘दुई लाख रुपैयामा मेसिन खरिद गरेर उद्योग सुरु गरिएको होे, उहाँले भन्नुभयो, ‘‘फुर्सदको समयमा समुहका सदस्यहरुले जंगलबाट पात संकलन गरेर ल्याउने र मेसिनबाट टपरी उत्पादन गर्ने गर्छौ ।’’
महिला समुहमा १४ जना महिलाहरु आबद्ध रहेका छन् । उद्योगबाट अहिले टपरी बोता (दुना) लगायत उत्पादन गर्ने गरिएको छ । उत्पादित टपरी प्रति गोटा ७ रुपैया र बोता प्रति गोटा ५ रुपैयामा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उत्पादन गर्नसके बजारको समस्या नरहेको उहाँको भनाई छ ।
‘‘अहिलेसम्म बजारको कुनै समस्या भएको छैन, श्रेष्ठले भन्नुभयो, ‘जति उत्पादन भयो त्यति बिक्री भइरहेको छ ।’’ उद्योगमा उत्पादित सामग्री स्थानीयस्तरमा नै खपत हुने गरेको उहाँले बताउनुभयो । उद्योगमा टपरी र बोता उत्पादन गरेर राख्ने र अर्डर भएपछि बजारमा पठाउने गरिएको छ ।
‘‘महिला समुहका दिदी बहिनीहरु वनमा गएर सालको पात टिपेर ल्याउनुहुन्छ, उहाँले भन्नुभयो, उत्पादित सामग्री बिक्रीबाट हुने आम्दानी महिला समुह र सिकाइ केन्द्रले लिने गरेको छ ।’’ चाडपर्व, विवाह, ब्रतबन्ध, भोजभतेर लगायत सामुहिक कार्यक्रम गर्दा स्थानीय स्तरमा उद्योगमा उत्पादित सामग्री बिक्री हुँदै आएको छ ।
स्थानीबासीहरु सचेत भएका कारण पनि उत्पादित सामग्रीको बजार समस्या नहुने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । पर्याप्त प्रचारप्रसार गर्नसके यसको माग अझै बढ्न सक्नेछ । जुनसुकै ठाउँबाट पनि अर्डर सामान उत्पादन गरी पु¥याउन सकिने उद्योगले जनाएको छ ।