Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गाउँमा बस पुगेपछि स्थानीयमा खुसीयाली, पूजा गरेर स्वागत


3.3K
Shares

गाउँमा बस पुगेपछि स्थानीयमा खुसीयाली, पूजा गरेर स्वागत

रामेछाप २८ असोज । आज बडादशैँको घटस्थापना । धेरै मानिसलाई घटस्थापना गर्ने, पूजा कोठा सिँगार्ने, जमरा राख्ने कामको चटारो भयो ।
अरूलाई जमरा राख्ने चटारोको बेला रामेछापको खाँडादेवी गाउँपालिका–८ गा गलबासीलाई घटस्थापनाको चटारोसँगै अर्को चटारो पनि थपियो । गाउँमा आएको बसलाई पूजा गर्ने, बसमा आएका चालक, सहचालकलाई खादा माला लगाएर स्वागत गर्ने चटारो थियो गाउँवासीलाई ।
गागलमा सडक बनेको धेरै भयो । गागलको महाकालीथानसम्म सुमो पनि चल्छ । तर सुमोमा धेरै मानिस नअटाउने ।
सोझै काठमाडौँ जाने मानिसले सुमो भरिएपछि गाउँका मान्छे सडक बने पनि पैदल नै हिँड्नु पर्ने । ‘सडक केही साँघुरो थियो, यस पटक मर्मत गर्दा मोडमा केही सुधार गरेर ठूला बनायौँ र बस चल्न सक्ने भयो’, खाँडदेवी–८ का वडाध्यक्ष जंगलाल तामाङले भन्नुभयो ।
गाउँमा बस आउने भएपछि बिहानदेखि गाउँलेहरू सगुन तयार गरेर बसेका थिए । गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए, गाउँलेले पनि सगुन खाएर खुसीयाली मनाए ।
गागलबासीलाई काठमाडौँ जान पाए सुमो नपाए बस चढ्न गाउँबाट तलसम्म झर्नुपथ्र्यो । अझ सदरमुकाम मन्थली आउनेले त ट्रक चढेर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो । अब गाउँमा बस पुगेपछि बसमा यात्रा गर्न पाउने भएका छन् ।
काठमाडौंबाट खाँडादेवीको फुल्पाहुँदै जाने बस गागलको महाकालीथानबाट चिरंखुसम्म पुग्छ । जसले गर्दा गाल मात्रै होइन दोरम्बा गाउँपालिकाका केही वडाका स्थानीयलाई समेत आवागमनमा सहज र छोटो यात्रा हुने भएको छ । ‘नियमित बस चल्ने भएपछि स्थानीयलाई धेरै सजिलो हुने भएको छ’, स्थानीय गोपाल थोकरले भन्नुभयो ।
चिरंखुबाट अब दैनिक बस सेवा सञ्चालन हुने वडाध्यक्ष जंगलालले बताउनुभयो । ‘खाँडादेवी यातायात समितिलाई कुरा गरेका छौँ, अब दैनिक बस सेवा सञ्चालन हुन्छ, स्थानीयलाई काठमाडौं आउजाउ गर्न धेरै सजिलो हुन्छ’, उहाँले भन्नुभयोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology